टोकियो ओलम्पिकमा गौरिकाले नेपाली झण्डा बोक्ने

पाँच खेलाडी र चार प्रशिक्षकसँगै टोकियो ओलम्पिकमा २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । कमिटीका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा हुने मार्च पासमा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्नेछिन् ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको ओलम्पिकमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताए । ‘यो पटक हामीले लामो समय तयारी गरेका छौं, लगानी गरेका छौं,’ उनले भने, आशा छ यस पटक राम्रो प्रदर्शन हुनेछ ।’

जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा हुने ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्ट हुनेछन् भने करीब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् ।

नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल हुनेछन् । टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टिमको तयारी २०१९ को मे महिनाबाट सुरु भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले प्रदान गरेको ओलम्पिक छात्रवृत्तिमा ७ खेलका १२ खेलाडीको सहभागिता थियो ।

प्रतियोगिता आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा सबैभन्दा जोखिमपूर्ण समूह ‘वान’ मा राखेको छ । सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेका छन् । अब टोकियो प्रवेश गर्नु अगाडि नेपाली प्रतिनिधिले सात दिन लगातार ‘पीसीआर’ परीक्षणबाट गुज्रिनु पर्नेछ । टोकियो पुगे पछि तीन दिन ‘क्वारेन्टिन’ मा बस्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *