देशविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नक्सलबारीको बेलगाछी चियाबारीबाट फ्रान्सिस एक्कालाई सेनाले पक्राउ गरेको छ। मङ्गलवार राति सेनाको त्रिशक्ति कोर्प, नेशनल डिजाष्टर रेसपोन्स फोर्स (एनडीआरएफ) र दार्जीलिङ पुलिसले संयुक्त अपरेशन चलाएर तिनलाई पक्राउ गरेको हो। पक्राउ परेका फ्रान्सिसकी पत्नी नक्सलबारी पञ्चायत समितिकी एक सदस्य हुन्। फ्रान्सिसको घरबाट रेडियोधर्मी पदार्थ क्यालिफोर्नियम र डिफेन्स रिसर्च एण्ड डेभलपमेण्ट अर्गनाइजेशन (डीआरडीओ) का धेरै गोप्य कागजात फेला पारिएको छ। तिनले डीआरडीओका दस्तावेजहरू तस्करी गरेको आरोप छ। सेनाअनुसार, अन्तर्राष्ट्रिय बजारमा प्रति ग्राम क्यालिफोर्नियमको मूल्य झण्डै 17 करोड़ रुपियाँ छ। केही महीनाअघि बिहारमा पनि यसै रेडियोधर्मी पदार्थसहित तीनजनालाई पक्राउ गरिएको थियो।
फ्रान्सिसलाई मङ्गलवार राति केरकार गरेपछि तिनलाई पानीघट्टा पुलिस चौकीमा सुम्पिएको छ। बुधवार मिरिक न्यायालयमा प्रस्तुत गराएर तिनलाई पाँच दिनको पुलिस रिमाण्डमा लिइयो। खरसाङका अतिरिक्त पुलिस अधीक्षक अभिषेक रायले भने, सेनाले आरोपीलाई पक्राउ गरेर हाम्रो जिम्मा लगाएको छ। सेनाले केही प्रमाणहरू पनि नियन्त्रणमा लिएको छ जसको जाँच भइरहेको छ। सेनाका अधिकारीहरूअनुसार, क्यालिफोर्नियम एउटा रेडियोधर्मी पदार्थ हो जुन क्युरियम र अल्फा कणहरूको मिश्रणबाट प्रयोगशालामा तयार गरिन्छ। यो कृत्रिम पदार्थ हो जसको प्रयोग मुख्यत: आणविक ऊर्जा केन्द्रहरूमा हुन्छ। यो भारतमा सामान्य मानिसहरूका लागि प्रतिबन्धित छ।
बेलगाछी चियाबारीमा श्रमिकका रूपमा काम गर्ने अमृता एक्का हाल निर्वाचित पञ्चायत समितिमा पदाधिकारी हुन्। फ्रान्सिस पनि पत्नीको कारण चियाबारीमा बस्दै आइरहेका थिए। मङ्गलवार राति सेनाको वाहनहरूको काफिला फ्रान्सिसको घरमा आएपछि स्थानीय मानिसहरू चकित भए। बम डिस्पोजल सूट लगाएका अधिकारीहरू र ठूलो सङ्ख्यामा पुलिस बल देखेपछि कसैले पनि नजिक जाने आँट गरेन। सेनाले घरमा लगभग 40 मिनटसम्म सर्च अपरेशन चलायो। अपरेशनमा फेला परेका सामानहरूसहित फ्रान्सिसलाई सेनाले नियन्त्रणमा लिएर पानीघट्टा पुलिस चौकीमा सुम्पिदियो। फ्रान्सिसको घरबाट डीआरडीओका गोप्य कागजातहरू र क्यालिफोर्नियमले भरिएको कण्टेनर फेला पारिएको छ। यसमा तिनको भूमिकाबारे सेनाले अनुसन्धान गरिरहेको छ। केही महीनाअघि बिहारमा भएको पक्राउसँग फ्रान्सिसको सम्बन्ध छ वा छैन भनेर पनि जाँच भइरहेको छ। डिफेन्स रिसर्च एण्ड डेभलपमेण्ट अर्गनाइजेशन भारतको सुरक्षासँग सम्बन्धित अनुसन्धानमा संलग्न संस्था हो। फ्रान्सिसले यस संस्थाका कागजात कसरी पाए भन्ने कुरा जाँचको विषय बनेको छ। फेला परेका कागजात अनि क्यालिफोर्नियम वास्तविक हुन् वा नक्कली हुन् सेनाको परीक्षणपछि मात्र त्यसको पुष्टि हुनेछ।