सिलगढ़ीको लेनिन कोलोनी, नौका घाट र अलिपुरद्वार जिल्ला मुख्यालयनजिकैको बीरपाड़ा। ट्याब काण्डमा यसपल्ट उत्तरका यी तीन स्थानहरूको नाम मुछिएको छ। शनिवार राति गरिएको अपरेशनमा यी तीन स्थानबाट जम्मा चारजनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमा बालुवा–ढुङ्गा खननका मजदुरदेखि व्यवसायीसम्म विभिन्न पेसाका मानिसहरू सामेल छन्। तर प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकाहरूको मामिलामा विद्यालयसँगै ब्याङ्कको कुनै क्लिनिकल मिस्टेक छ कि छैन भनेर पनि प्रश्न उठ्न थालेको छ।
लेनिन कोलोनीका वासिन्दा नजरुल इस्लाम र रूकसाना खातूनलाई पश्चिम मेदिनीपुरको केसियारी थाना पुलिसले पक्राउ गरेको छ। नौका घाट क्षेत्रका वासिन्दा मेहबुब हुसैन र बीरपाड़ाका वासिन्दा प्रदीप दासलाई विधाननगर साइबर अपराध थाना पुलिसले पक्राउ गरेको छ। आइतवार पक्राउ परेकाहरूलाई ट्राञ्जिट रिमाण्डमा लिएर दुई क्षेत्रका पुलिसले आफ्नो-आफ्नो क्षेत्रमा लगेको छ। सूत्रअनुसार, नजरुल र रूकसानाको खातामा पैसा जम्मा भएको थियो। जुन खातामा पैसा जम्मा भएको छ त्यही खातामा फोन नम्बर जोड़िएको कारण मेहबुब हुसैनलाई पक्राउ गरिएको हो। प्रदीपको मामिलामा पनि उस्तै घटना देखिएको छ। अर्को एउटा खातामा तिनको मोबाइल नम्बर जोड़िएको देखिएको छ। मतिगढ़ा क्षेत्रका दुई बालुवा–ढुङ्गाको काम गर्ने मजदुरहरूलाई पनि अनुसन्धानमा जोड़िएको छ। पश्चिम मेदिनीपुरको केसियारी थानामा यसै महिनाको 16 तारिख उजुरी दर्ता भएको थियो। विद्यालयका सातजना विद्यार्थीहरूको ट्याबको पैसा अन्य खातामा गएको सातारापुर लालबहादुर एससी उच्च विद्यालयको तर्फबाट बताइएको थियो। जाँच गर्दा केसियारी थाना पुलिसले छजना विद्यार्थीहरूको पैसा लेनिन कोलोनीका छजना व्यक्तिको खातामा जम्मा भएको पत्तो लगायो। शनिवार केसियारी थानाको एउटा टोली मतिगढ़ा आइपुगेको थियो। ती 6 जनामध्ये नजरुल र रूकसानाले खाताबाट 10,000 रुपियाँ निकालेको कारण तिनीहरूलाई केसियारी थाना पुलिसले पक्राउ गरेको हो।
पेसाले एकाउण्टेण्ट मेहबुब मोबाइल नम्बरको कारण घटनामा मुछिएको छ। विधाननगर साइबर अपराध थानामा दर्ता भएको उजुरीअनुसार, विद्यार्थीहरूको पैसा गएको खातामा मेहबुबको मोबाइल नम्बर जोड़िएको छ। ब्याङ्कभित्र कुनै गिरोह छ कि यो केवल गल्ती हो भन्ने अब प्रश्न उठ्न थालेको छ। डीसीपी (वेस्ट) विश्वचन्द ठाकुरले भने, ट्याब काण्डको जाँच भइरहेको छ। त्यसै गरी ट्याब काण्डमा मुछिएको दक्षिण बङ्गालका एक व्यक्तिको ब्याङ्क खातासँग अलिपुरद्वारका व्यापारीको फोन नम्बर जोड़िएको पाइएको थियो। त्यसको आधारमा अलिपुरद्वारमा अपरेशन गरी प्रदीपलाई पक्राउ गरिएको छ। तर तिनको ब्याङ्क खाताको विवरण जाँच गर्दा कुनै पैसा लेनदेनको प्रमाण भने फेला परेको छैन।