सिलगढीको दगापुरमा GTA को श्रमिक भवन निर्माणको शिलान्यास

पहाडका बासिन्दाको लामो समयदेखिको माग अन्ततः पूरा हुँदैछ । गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले पहाडी बासिन्दाहरूको लामो समयदेखिको माग पूरा गर्न सिलगढी श्रमिक भवन निर्माण गर्ने निर्णय गरेको छ, जसको आज शिलान्यास गरिएको छ।

दार्जिलिङ पहाडका मजदुर तथा अन्य मानिसहरूलाई सिलगढी आउँदा यहाँ बस्न समस्या हुने गरेको थियो, त्यसलाई मध्यनजर गर्दै श्रमिक भवन निर्माणको पहल गरिएको हो ।बिहीबार दिउँसो २ बजे सिलगढी नजिकै दगापुर श्रमिक भवन कम्प्लेक्समा जीटीएको श्रमिक भवन निर्माण परियोजनाको शिलान्यास गरिएको थियो।

जीटीएका प्रमुख कार्यकारी अधिकृत अनित थापाले प्रदीप प्रज्जलनमार्फत आयोजनाको शिलान्यास गरेका हुन् । यस अवसरमा GTA उपाध्यक्ष राजेश चौहान सहित GTA र श्रम विभागका अधिकारीहरू र अध्यक्षहरू पनि उपस्थित थिए। १४ करोड २४ लाख ३१ हजार ६३३ रुपैयाँको लागतमा यो श्रमिक भवन निर्माण हुन लागेको बताइएको छ ।श्रमिक भवन बनेमा पहाडी क्षेत्रका मजदुरहरू कम खर्चमा यस भवनमा बस्न सक्छन् ।