शहरका प्रमुख र व्यस्त मलमध्ये एक कसमस मलभित्र रहेको आइसक्रिम पार्लरमा आज खाद्य सुरक्षा विभागले ठूलो कारवाही गरेको छ। निरीक्षणका क्रममा देखिएका दृश्यहरू केवल हैरान पार्ने मात्र नभई उपभोक्ताहरूको स्वास्थ्यबारे गम्भीर चिन्ता सिर्जना गर्ने विषय छन्। आइसक्रिम पार्लरभित्र सफाईको चरम अभाव रहेको, खाद्य सामग्रीहरू खुल्ला अनि अस्वच्छ तरिकाले राखिएका अनि पसलभित्र साङ्ग्लो समेत देखिएको विभागले पत्तो लगायो। साथै उक्त पार्लर कानूनी रूपले मान्य व्यापार अनुमतिबिना सञ्चालन भइरहेको पनि पाइयो। यी त्रुटिहरू देखेपछि खाद्य सुरक्षा अधिकारीहरूले पार्लरलाई कठोर चेताउनी दिँदै सात दिनको म्याद दिएका छन्। उक्त अवधिभित्र सरसफाई, कीट नियन्त्रण र कानूनी कागजातहरू पूरा गर्न निर्देशन दिइएको छ। यदि तोकिएको समयमा सुधार नभए पसल सिल गरिने वा धेरै जरिमाना लगाइने विभागले स्पष्ट पारेको छ। पसल चाहे मलभित्र होस् वा सड़क किनार ग्राहकहरूको स्वास्थ्यसित कुनै स्थितिमा सम्झौता नगरिने अधिकारीहरू स्पष्ट पारेका छन्।
कसमस मलको यो आइसक्रिम पसल मात्र होइन मलभित्रकै अर्को फूड आउटलेट टप टी हाउसमा पनि खाद्य सुरक्षा विभागको टोलीले गम्भीर त्रुटिहरू भेटेको छ। निरीक्षणमा पसलमा बिक्री भइरहेको ब्रेड, केक, प्याटिजजस्ता वस्तुहरू म्याद सकिएको भेटियो। तीमध्ये केहीमा फङ्गस समेत लागेको थियो। यी सामग्रीहरू ग्राहकहरूलाई बेचिरहेको पाइयो। जुन उपभोक्ता अधिकार र स्वास्थ्य सुरक्षाको उल्लङ्घन हो।
त्यसै गरी शहरका अन्य ठाउँहरूमा पनि यस्तै प्रकारले खाद्य बेचिरहेको भेट्टाइयो। पछिल्ला हप्ताहरूमा एस. एफ. रोड अनि बाघाजतिन पार्कअघि रहेका केही पसलहरूमा पनि विभागले कारवाही गरेको थियो। त्यहाँ पनि सरसफाई, खाद्य गुणस्तर र लाइसेन्सको चरम अभाव पाइयो। सिलगढ़ीका कैयन् ठूला-साना खाद्य व्यवसायीहरूले स्वास्थ्यका मापदण्डलाई अदेखा गर्दै आइरहेका यी घटनाहरूले प्रष्ट देखाउँछन्।
कसमसभित्र खाद्य सुरक्षा विभागको कारवाही
