आस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएको लामो समयपछि दोस्रो मात्रा लगाउँदा पनि हुन्छ’

अक्सफर्ड/आस्ट्राजेनेका खोप विकासमा संलग्न अक्सफर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले बीबीसी नेपाली सेवासँग विशेष कुराकानी गर्दै त्यस्तो जानकारी दिएका हुन्। खोपको दोस्रो मात्रा पाउन ढिलाइ हुँदा पनि कोरोनाभाइरस प्रतिरोधी प्रणाली झ्वाट्टै कमजोर नहुने प्राध्यापक पोलार्डको भनाइ छ। उनले कोरोनाभाइरसको महामारीको उच्च जोखिम देखा परेको नेपाल जस्ता देशमा “खोप नपुग्नु लाजमर्दो ” भएको बताएका छन्। तीन दशकअघि पर्वतारोहणका लागि पहिलो पटक नेपाल आएका पोलार्ड सन् १९९४ मा सगरमाथा आरोहण गर्न आएको ब्रिटिश मेडिकल एक्सपिडिसनका उपनेता थिए।

डेढ दशक भन्दा बढी समय यता पाटन अस्पतालका चिकित्सकहरूसँग मिलेर खोप सम्बन्धी विभिन्न अनुसन्धानमा उनी आबद्ध रहेका छन्।

उनै प्राध्यापक पोलार्डसँग साथी फणीन्द्र दाहालले गरेको कुराकानी:

प्राध्यापक पोर्लाड सबैभन्दा सुरुमा गत महिना स्कूले बालबालिकालाई सम्बोधन गर्दै तपाईँले सगरमाथा चढ्दाको अनुभवले अक्सफर्ड-आस्ट्राजेनेका खोप विकास गर्ने क्रममा आफ्नो समूहसँग काम गर्न सघाएको बताउनुभएको थियो। त्यसबारे थप भनिदिनुहोस् न?

नयाँ खोप विकास गर्नु एकदमै ठूलो प्रयास हो। यसका लागि सामूहिक प्रयास चाहिन्छ र अक्सफर्ड-आस्ट्राजेनेका खोप विकास गर्दा यहाँ अक्सफर्डमा र यूके अनि ब्राजिल र दक्षिण अफ्रिकामा ठूलो समूह जुटेको थियो।

त्यही भएर एकदमै ठूलो परीक्षण गरियो जो खोपको परीक्षणमा सहभागी बन्ने इच्छा देखाउँदै अघि आए। त्यो टोलीमा काम गर्दाको अवस्था उच्चस्तरको परिश्रमसँग मिल्दोजुल्दो हुन्छ।

नेपालमा ठूला हिमाल आरोहण गर्न हामीलाई साथ दिने स्थानीय आरोही र विदेशीहरूसँग मेरो उत्कृष्ट सामूहिक प्रयास र गजबको अनुभव रह्यो।

आफ्नो पहिलो भ्रमणका क्रममा तपाईँले नेपालमा भेटेका कतिपय मानिसहरू ६५ वर्ष वा त्योभन्दा बढीको उमेरका भए होलान्। उनीहरूले अक्सफर्ड-आस्ट्राजेनेकाको पहिलो मात्रा खोप पाए पनि दोस्रो मात्रा खोप नपाएर व्यग्रतापूर्वक कुरिरहेको सुन्दा तपाईँलाई कस्तो महसुस हुन्छ?

मलाई लाग्छ ५० वर्षभन्दा माथिको उमेरका जोकोहीले पनि पहिलो मात्रा पाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। पहिलो मात्राले उनीहरूलाई कोरोनाभाइरसको महामारीबाट एकदमै महत्त्वपूर्ण सुरक्षा दिन्छ।

म दोस्रो मात्रा खोप लगाउन नपाउँदाको चिन्ताहरू बुझ्न सक्छु।

तर हामीले तथ्याङ्कहरू हेर्ने हो भने पहिलो मात्रा मात्रै लगाएको अवस्थामा पनि खोपले अस्पताल जानुपर्ने र गम्भीर किसिमको बिरामी हुने अवस्थाबाट उच्चस्तरको सुरक्षा दिएको पाइन्छ, विश्वका धेरै ठाउँमा फैलिएको डेल्टा भेरिअन्टमा समेत। त्यही भएर पहिलो मात्रा मुख्य हो। जब हामीसँग बढी आपूर्ति हुन्छ दोस्रो मात्रा लगाउँदा त्यसले अझ उच्चस्तरमा पुर्‍याउँछ। तर सबैभन्दा महत्त्वपूर्ण बढी भन्दा बढीलाई पहिलो मात्रा खोप पुर्‍याउनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *