कुदिरहेको गाड़ीमा आगलागी

सोमवार बेलुकी रवि सिंह सिलगढ़ीको सिटी सेण्टरदेखि दुईजना यात्री लिएर प्रणामी मन्दिरतर्फ गाड़ीमा गइरहेका थिए। एयरभ्यु मोड़ पार गरेर चर्च रोड हुँदै केही अगाड़ि बढ्दा तिनले अचानक एकजना बाइक चालकको चिच्याहट सुने। रियर भ्यु मिररमा हेर्दा ती बाइक चालक पछिबाट तिनलाई गाड़ी रोक्ने सङ्केत गर्दै थिए।

रविले गाड़ीको गति धिमा गर्न साथ उक्त बाइक चालकले नजिक आएर गाड़ीको तल्तिरबाट धुवाँ निस्किरहेको अनि आगो लागेको जानकारी गराए। त्यसबारे सुन्न साथ दुई यात्रीसितै तिनी गाड़ीबाट बाहिर निस्किए। ठीक त्यसै समयमा गाड़ीमा भयावह आगो लाग्न थाल्यो। घटनाबारे बताउँदा रवि निकै डराएका थिए। तिनले भने, त्यो बाइक चालक भगवान नै थिए। यदि तिनले नबताई अघि बढ़ेको भए आज के हुन्थ्यो, थाहा छैन।

घटना भएलगत्तै उक्त क्षेत्रमा होहल्ला मच्चियो। तत्कालै नजिकैको पानीट्याङ्की ट्राफिक पुलिसलाई खबर गरियो। साथै दमकललाई पनि खबर गरियो। समाचार पाउने बित्तिकै दमकलको एउटा इञ्जिन आइपुग्यो र आगो नियन्त्रणमा ल्यायो। हाल क्षतिग्रस्त गाड़ीलाई क्रेनमार्फत तानेर पानीट्याङ्की फारी पुलिस थानामा लगिएको जानकारी प्राप्त भएको छ।

By Piyali Poddar