एक चिनियाँ व्यक्तिले २४ वर्षपछि आफ्नो हराएको छोरा भेटेका छन्।

गुओ गाङ्टाङले छोराको खोजीमा मोटरसाइकलमा पाँच लाख किलोमिटरभन्दा लामो यात्रा गरेका थिए।

दुई वर्षको उमेरमा उनका छोरालाई शान्डोङ प्रान्तमा रहेको घर अगाडिबाटै मानव तस्करहरूले अपहरण गरेका थिए।

५१ वर्षका बाबुको शनिवार छोरासँग पुनर्मिलन भएको बताइएको छ। सन् २०१५ मा हङकङका सुपरस्टार एन्डी लाउ अभिनित एक चलचित्र उनीहरूकै कथाबाट प्रेरित थियो।

चीनमा बालबालिका अपहरण ठूलो समस्याका रूपमा रहेको र त्यहाँ बर्सेनि हजारौँ बालबालिका अपहरणमा पर्ने जनाइएको छ।

चीनको जनसुरक्षा मन्त्रालयका अनुसार डीएनए परीक्षणका आधारमा प्रहरीले उनको छोरा पत्ता लगाएको हो।

ग्लोबल टाइम्स पत्रिकाका अनुसार २४ वर्षअघि अपहरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

थप विवरण नखुलाइए पनि स्थानीय पत्रिकाहरूले गुओका छोरा छिमेकको हेनान प्रान्तमा भेटिएका र उनीहरूको सप्ताहान्तमा भेट भएको विवरणहरू दिएका छन्।

“अब बच्चा पत्ता लागेपछि यहाँबाट सबै कुरा खुसीकै हुन्छ,” गुओले पत्रकारलाई बताए।

सन् १९९७ मा छोराको अपहरण भएपछि गुओले छोरा खोज्दै मोटरसाइकलमा चीनका २० भन्दा बढी प्रान्त भ्रमण गरेका थिए।

त्यस क्रममा भएका दुर्घटनाहरूमा उनको हड्डी भाँच्चिएको, सडकमा लुटेराहरूले लुटेको र १० वटा मोटरसाइकल बिग्रिएको बताइएको छ।

छोराको तस्बिर भएको ब्यानर बोकेर उनले आफ्नो जीवनभरको कमाइ छोराको खोजीमा खर्च गरेका थिए।

छोरा खोज्ने यात्राका क्रममा उनले पुलमुनि सुतेर एवम् कतिपय अवस्थामा मागेर खर्च जुटाएका थिए।

छोराको खोजी गरिरहँदा उनी चीनमा हराएका व्यक्तिका परिवारका सङ्घहरूको प्रमुख सदस्य बनेका थिए र कम्तीमा सात बाबुआमालाई तिनका हराएको छोराछोरी भेट्न सहयोग गरेका थिए।

उनको छोरा भेटिएको समाचार आउने बित्तिकै चिनियाँ सामाजिक सञ्जालहरूमा उनको समर्थनमा थुप्रै भावपूर्ण सन्देशहरू प्रकाशित भएका छन्।

“धेरै अभिभावकले सायद धेरै अगाडि नै खोज्न छोड्थे होलान्। उनी अचम्मका छन् र म उनको लागि साँच्चै खुसी छु,” एक व्यक्तिले विबोमा लेखेका छन्।

चीनमा बच्चाको अपहरण दशकौँदेखिको समस्या हो।

सन् २०१५ चीनमा प्रतिवर्ष २०,००० बालबालिका अपहरण हुने बताइएको थियो। तीमध्ये धेरै जस्तो चीनमै र देशबाहिर धर्म सन्तान राख्न बिक्री गरिने बताइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *