कोलकाताको कुमोरटुली घाटमा हालै एउटा ट्रली ब्यागबाट सुमिता घोष नामकी महिलाको टुक्रा–टुक्रा पारिएको शव फेला परेको थियो। प्राप्त जानकारीअनुसार दुईजना महिलाहरू उक्त ट्रली ब्याग गङ्गामा फाल्न गइरहेका थिए। ती महिलाहरूको नाम फाल्गुनी घोष र आरती घोष हो। आरती घोष फाल्गुनी घोषकी आमा हुन्। तिनीहरूको हातमा रहेको ट्रली ब्यागबाट रगत चुहिरहेको देखेपछि स्थानीय मानिसहरूले शङ्का गरे। पछि ट्रली ब्यागको ताला फुटाएर हेर्दा त्यसभित्र सुमिताको शव भेटियो। यस घटनाले ठूलो होहल्ला मच्चायो। पछि जाँचबाट यस हत्या काण्डको जरो मध्यमग्राममा रहेको पत्तो लाग्यो। प्राप्त जानकारीअनुसार सुमिता आफ्नी भतिजीको घरमा बस्न आएकी थिइन्। सम्पत्ति सम्बन्धी विवादको कारण तिनको हत्या गरिएको पुलिसले बताएको छ।
यस घटनामा फाल्गुनी अनि आरतीलाई पुलिसले पक्राउ गरिसकेको छ। तर फाल्गुनी घोषको नाम अपराधको दुनियाँमा नयाँ होइन। लगभग चार वर्षअघि पनि तिनी चोरीको आरोपमा सिलगढ़ी पुलिसद्वारा पक्राउ परेकी थिइन्। त्यस मामिलामा चार दिन जेल बसेपछि तिनी जमानतमा छुटेकी थिइन् र असमस्थित आफ्नै लोग्नेको घर फर्केकी थिइन्। तर त्यहाँ गएकी बेला तिनले आफ्ना काका ससुराको घरमा गएर काकी सासूको सुनको चेन, गरगहना र नगद 25 हजार रुपियाँ चोरी गरेको आरोप लागेको थियो।
यद्यपि उक्त घटनाबारे तिनका काका ससुराले कुनै प्रतिक्रिया दिएका थिएनन्। फाल्गुनी पहिले नै आपराधिक प्रवृत्तिकी थिइन् भन्ने अनुमान गरिएको छ। तर तिनको अपराध त्यतिमा मात्र सीमित रहेन। असममा लोग्नेको घर फर्केपछि तिनले आफ्नो परिवारसित विवाद गरिन् अनि फेरि मध्यमग्राम फर्किइन्। त्यहाँ आएपछि तिनले श्रीमान् र परिवारका अन्य सदस्यहरूविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गरिन्। हाल त्यो मुद्दा न्यायालयमा चलिरहेको छ।