अन्यसित सम्पर्क गर्ने प्रयासमा जिल्ला प्रशासन

मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङ, कालेबुङ अनि तराईबाट काम गर्न गएका धेरै मानिसहरू अफगानिस्तानमा फँसेका सार्वजनिक गरेपछि कालेबुङ जिल्ला प्रशासनले अफगानिस्तानमा फँस्नेहरूमध्ये कालेबुङका ५ जनालाई चिह्नित गरिसकेको छ। साथै अन्यसित सम्पर्क गर्ने कार्य युद्धस्तरमा चलाइरहेको जानकारी प्राप्त भएको छ ।

कालेबुङ जिल्लापाल आर. विमलाले दिएकी जानकारी अनुसार दार्जीलिङ, कालेबुङ अनि तराईबाट काम गर्न गएकाहरू धेरै सङ्ख्यामा अफगानिस्तानमा फँसेका थाहा पाएपछि तिनीहरूलाई चिह्नित गर्ने अभियान आरम्भ गरिएको छ । यसै अवधि हालसम्म ५ जनालाई चिह्नित गरिएको छ। तिनीहरूको विवरण पश्चिम बङ्गाल सरकारको होम एण्ड हिल अफेयर्स विभागलाई पठाइएको छ यदि कसैसित अफगानिस्तानमा फँसेका मानिसहरूको जानकारी छ भने कालेबुङ जिल्ला प्रशासनलाई जानकारी गराउन जिल्लापाल आर. विमलाले अपिल गरेकी छन् ।

इष्टमेन रोड निवासी भूतपूर्व सैनिक समीर छेत्री अहिले अफगानिस्तानमा फँसेका छन् समीरकी पत्नी जुमा छेत्रीले आफ्ना पतिलाई घर फर्काइदिऊन् भनी सरकारसमक्ष माग गरेकी छन् । अफगानिस्तानको वर्तमान भयावह स्थितिमा पति फँसेको हुनाले परिवार त्रस्त बनिरहेको जुमाले जनाइन् । तिनले भनिन्, पति समीर छेत्रीसँग कुराकानी चाहिँ भई नै रहेको छ । हिजो फोनमा तिनले अफगानिस्तानबाट तिनीहरूलाई भारत फर्काउने भएको बताएका थिए । तर विमानस्थलमा केही झमेला हुँदा तिनीहरूलाई अर्कै ठाउँमा लगेर राखिएको छ ।समीरले फोनमा बताए अनुसार अमेरिकी सेनाले अफगानिस्तानमा फँसेकाहरूलाई भारत फर्काउन धेरै सहयोग गरिरहेको छ। पतिसित कालेबुङका अन्य १०-१२ जना अफगानिस्तानमा फँसेको थाहा लागेको पनि तिनले जनाइन् ।

आफ्ना पति समीर छेत्री २ वर्षअघि अफगानिस्तानमा सेक्युरिटी गार्डको काम गर्न गएका जुमाले बताइन् । अफगानिस्तानमा फँसेका मानिसहरूबारे प्राप्त जानकारी सम्बन्धित निकायलाई बुझाइसकेको कालेबुङ जिल्ला पुलिस अधीक्षक हरिकृष्ण पाईले जनाएका छन् ।गोजमुमो २ का कार्यवाहक अध्यक्ष अनित थापाले पनि दार्जीलिङ, कालेबुङ अनि तराईका मानिसहरूलाई अफगानिस्तानबाट घर फर्काउने पहल चलाइदिन भन्दै पत्राचार गरेका छन् ।फँसेकाहरूलाई तिनले फर्काउने घर दिशामा पहल चलाएकोमा मुख्यम न्त्री ममता ब्यानर्जीप्रति आभार व्यक्त गरेका छन् । भारत सरकारले फँसेकाहरूलाई अफगानिस्तानबाट सुरक्षित घर फर्काउँछ भन्ने विषयमा तिनले आशा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *