भूटानी ट्रकहरूलाई फूलबारी सीमाबाट प्रवेश निषेधको माग

भूटानी ट्रकहरूलाई फूलबारी सीमाबाट प्रवेश गर्न नदिनुपर्ने मागमा सोमबार सिलगढ़ीको फूलबारी क्षेत्रमा चर्को विरोध प्रदर्शन भयो। यस क्रममा थुप्रै प्रदर्शनकारी पक्राउ परेका छन्। भूटानबाट आएको ट्रकलाई सिधा बङ्गलादेश प्रवेश गर्न नदिने माग राख्दै भारत-बङ्गलादेशको फूलबारी 2 नम्बर सीमामा तनाउको अवस्था सिर्जना भयो। बिहानैदेखि फूलबारी 2 बोर्डर लोकल ट्रक ओनर्स वेलफेयर एसोशिएशन, फूलबारी एक्सपोर्टर्स एसोशिएशन, फूलबारी ड्राइभर एसोशिएशन र फूलबारी सी एण्ड एफ एसोशिएशन चारवटा सङ्घले संयुक्त रूपमा सीमा नाका बन्द गर्दै विरोध प्रदर्शन थाले। भूटानी ट्रकहरूले फूलबारी सीमामा सामग्री झार्नुपर्छ, त्यसपछि ती सामान भारतीय ट्रकमार्फत बङ्गलादेश पुर्याअउनुपर्ने प्रदर्शनकारीहरूको माग छ। यो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै ट्रक मालिक र चालकहरूले आमरण अनशन र सड़क अवरोध जारी राखेका छन्। तिनीहरूका परिवारका सदस्यहरू पनि प्रदर्शनमा सहभागी भएका छन्। आन्दोलन तीव्र भएपछि ठूलो सङ्ख्यामा पुलिस तैनाथ गरिएको छ।
पछिल्ला केही महीनादेखि भूटानबाट ओभरलोड ढुङ्गा र बोल्डर बोकेका ट्रकहरू सिधै बङ्गलादेश प्रवेश गरिरहेका छन्। यसले गर्दा भारतीय ट्रकहरूको सीमा व्यापार प्रायः ठप्प भएको प्रदर्शनकारीहरूको आरोप छ। हजारौँ मजदुर, चालक र मालिकको जीविकोपार्जन ढुङ्गा निर्यात व्यवसायमाथि निर्भर छ, अहिले त तिनीहरूको परिवार पाल्नै गाह्रो भइरहेको छ। यसबारे प्रशासनदेखि मुख्यमन्त्रीलाई पटक–पटक पत्र पठाइए पनि कुनै कदम नचालिएको तिनीहरूको गुनासो छ। फूलबारी सीमामा भूटानी ट्रक प्रवेश निषेध गरियोस् र सबै सामग्री सीमामै झार्न बाध्य पारियोस् भन्ने तिनीहरूको माग छ।
लगभग 9 दिनदेखि आमरण अनशन चलिरहेको छ। आजको विरोध प्रदर्शनका कारण फूलबारी सीमामा थुप्रै ट्रकहरू रोकिएका छन् जसले गर्दा स्थिति तनाउपूर्ण बन्यो। पुलिसले आन्दोलन हटाउन आग्रह गरे पनि प्रदर्शनकारीहरूले अस्वीकार गरे। त्यसपछि पुलिसले पुरुष र महिलासहित थुप्रै प्रदर्शनकारीलाई पक्राउ गरी एनजेपी थानामा लगेको छ। त्यसपछि रोकिएका भूटानी ट्रकहरू स्थलबन्दरमा प्रवेश गराइएको छ।

By Piyali Poddar