मिरिकमा निर्माणाधीन महकुमा अस्पताल भवनको निर्माण कार्य युद्ध स्तरमा चलिरहेको छ। सम्बन्धित निकायले दिएको जानकारीअनुसार हालसम्म भवनको लगभग 30 प्रतिशत कार्य सम्पन्न भइसकेको छ। छत ढलाईको कार्य पनि सकिएको छ।
मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रले महकुमा अस्पतालको दर्जा पाएपछि यस क्षेत्रका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यमा भवन निर्माण कार्य आरम्भ गरिएको हो। अस्पताल सञ्चालनमा आएपछि मिरिकवासीलाई सामान्य रोगको उपचारका लागि पनि टाढ़ा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। यता भवन निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि केही गम्भीर समस्याहरू भने देखा परेका छन्। अस्पताल निर्माणका लागि गरिएको खनन कार्यमा सुरक्षा पर्खाल निर्माण नगरिए भविष्यमा ठूलो पैह्रोको जोखिम बढ्ने सम्भावना छ।
विशेष गरी वर्षायाम लाग्नअघि यस विषयमाथि ध्यान दिन आवश्यक देखिन्छ। भवन निर्माणका लागि गरिएको खनन कार्यले वरपरका घरहरू पनि पैह्रोको जोखिममा परेका छन्। स्थानीय मानिसहरू यस विषयमा चिन्तित छन् र बर्खा मौसमअघि नै यस समस्याको समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।स्थानीयवासीले अस्पताल निर्माण कार्य समयमै सम्पन्न होस् र पैह्रोको जोखिमलाई न्युनीकरण गर्नुपर्ने माग राखेका छन्। यता केही दिनअघि पश्चिम बङ्गाल लेजिस्लेटिभ कमिटीका चेयरम्यान निर्मल माझी अनि सभासद मिलेस राईले मिरिक महकुमा अस्पताल भवन निर्माण कार्यको निरीक्षण गरेर निर्माण कार्य राम्ररी भइरहेको बताएका थिए।