बीआर चोपडाको धारावाहिक टेलिशृंखला महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रवीण कुमारको निधन भएको छ । उनको ७४ वर्ष उमेरमा मंगलबार निधन भएको सञ्चारमाध्यमले जनाएको छ। प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए।
उनले ५० भन्दा धेर बलिउड चलचित्रमा काम गरिसकेका छन् । उनको पछिल्लो चलचित्र महाभारत और बर्बर सन् २०१३ मा रिलिज भएको थियो। अभिनय र खेलकुदका बाहेक प्रवीण राजनीतिमा पनि प्रवेश गरेका थिए । उनले आम आदमी पार्टीबाट दिल्लीको बजीरपुर क्षेत्रबाट निर्वाचन समेत लडेका थिए पछि उनले आम आदमी पार्टी छाडेर भाजपा प्रवेश गरेका थिए । काम नपाएका कारण जीवनयापनमा समस्या भएपछि प्रवीण कुमारले सरकारले पेन्शन दिन माग समेत गरेका थिए।