माछा मार्न गएको बेला एक व्यक्तिको मृत्यु भएको छ। फाँसीदेवा नजिकैको महानन्दा क्यानलसित जोड़िएको जलाशयमा डुबेर तिनको ज्यान गएको हो। घटनाले फाँसीदेवाको बणिकजोत क्षेत्रमा खलबली मच्चिएको छ। मृत व्यक्तिको नाम प्रसञ्जीत सरकार हो। प्राप्त जानकारीअनुसार हिजो राति अबेर प्रसञ्जीत सरकार दुई साथीसित माछा मार्न क्यानल नजिकैको बणिकजोत जलाशयमा गएका थिए। जाल फ्याँक्ने क्रममा खुट्टा चिप्लिएर तिनी जलाशयमा खसे। अन्य साथीहरूले तिनलाई उद्धार गर्ने प्रयास गरे पनि पानी गहिरो भएकाले सफल हुन सकेनन्। पछि परिवारका सदस्यहरूले थाहा पाएर फाँसीदेवा पुलिसलाई खबर गरे। पुलिसले आज शव निकालेर पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा पठाएको छ। फाँसीदेवा पुलिसले घटनाको विस्तृत जाँच गरिरहेको छ।
माछा मार्न गएका व्यक्तिको मृत्यु
