डीडीसीकेएमयूले पैह्रो पीड़ितहरूलाई घर निर्माण गरिदिने

माकपाको श्रमिक सङ्गठन दार्जीलिङ जिल्ला चियाकमान मजदुर युनियन (डीडीसीकेएमयू)ले थर्बु चियाबारीका चार पैह्रो पीड़ितहरूको घर निर्माणको जिम्मा लिएको छ। घर निर्माणका लागि टिनको छानो वितरण गर्ने कार्य थर्बु नन्दलाल गाउँ सार्वजनिक भवनमा गरिएको छ। मङ्गलवार इष्टर्न रेलवे मेन्स युनियनका अध्यक्ष चितरञ्जन सरकार, महासचिव अरूप गाङ्गुली, वित्तीय सचिव किष्टेण्डु मुखर्जी अनि जोनल युथ सचिव प्रलाद दत्त सामग्री लिएर आएका थिए। तिनीहरूले पीड़ितहरूलाई टिनको छानो साथै लुगाफाटाहरू वितरण गरे। यस अवसमा माकपा नेता सचिन खाती, डीडीसीकेएमयूका सदस्य किस्मत तामाङ, थर्बु युनिटका सदस्य सुवर्ण राई आदि उपस्थित थिए। यस अवसरमा बोल्दै माकपा नेता सचिन खातीले भने, गत 4 अक्टोबरमा गएको विनाशकारी पैह्रोले धेरै घरविहीन बने पनि पीड़ितहरू अहिलेसम्म राहत शिविरमा बस्न बाध्य छन्।

लगभग तीन महीना बितिसक्दा पनि प्रशासनले पैह्रो पीड़ितहरूलाई सुरक्षित स्थानमा पुनर्वास गराउन नसक्नु विडम्बना हो। साठी हजार रुपियाँ पीड़ितलाई प्रदान गरेर सत्ताधारीहरू मौन बसेका छन्। सुरक्षित स्थानमा पीड़ितहरूलाई पुनर्वास गराउनुपर्छ। साठी हजार रुपियाँले वर्तमान समयमा केही गर्न सकिँदैन। अहिले राज्य सरकार अनि जीटीए काम नलाग्ने बनेको छ। सत्ताधारीहरूले चियाबारीका मालिकहरूलाई भनेर पीड़ितहरूलाई पुनर्वास गराउनका लागि जमीन उपलब्ध गराउनु नसक्नु पनि खेदपूर्ण छ। प्रशासनको ध्यान आकर्षण गराउन डीडीसीकेएमयूले पैह्रो सफा गर्ने कार्य गरेको हो साथै माकपाका विभिन्न सङ्गठनहरूद्वारा मिरिकका विभिन्न पैह्रो प्रभावित क्षेत्रहरूमा पीड़ितहरूलाई आवश्यक सामग्री प्रदान गर्ने कार्य गर्दै आइरहेका छन्। त्यसताक सरकारले पीड़ितहरूलाई घर निर्माण नगरिदिए हामी निर्माण गरिदिनेछौ भनेर बताएका थियौँ। सोही आश्वासन अनुरूप हामीले थर्बु चियाबारीका चारजना पैह्रो पीड़ितहरूको घर निर्माणको पहल गर्न टिनको छानो ल्याएका छौँ। सबै सामग्री जुटाएपछि हामी चार पीड़ितहरूको घर निर्माण कार्य थाल्नेछौँ।
डीडीसीकेएमयूका जिल्ला सदस्य किस्मत तामाङले भने, पैह्रो पीड़ितहरूको घर निर्माणका लागि चियाबारी प्रबन्धक पक्षले चाँड़ै जमीन उपलब्ध गराउनुपर्नेछ। यदि जमीन उपलब्ध नगराए हामी आन्दोलनमा उत्रिनेछौँ। पैह्रो पीड़ितहरूको घर निर्माणका लागि टिनको छानो अनि आवश्यक सामग्री प्रदान गरिदिए बापद इष्टर्न रेलवे मेन्स युनियनप्रति आभार प्रकट गर्दै तिनले डीडीसीकेएमयूले चार पैह्रो पीड़ितहरूको घर निर्माणको जिम्मा लिएको जानकारी गराए।यता इष्टर्न रेलवे मेन्स युनियनका अध्यक्ष चितरञ्जन सरकार, महासचिव अरूप गाङ्गुली, वित्तीय सचिव किष्टेण्डु मुखर्जी अनि जोनल युथ सचिव प्रह्लाद दत्तले विनाशकारी पैह्रोको चपेटमा परेर घरविहीन बनेका मानिसहरूलाई पुनर्वासका लागि युनियनका सदस्यहरूमाझ अर्थ सङ्कलन गरेर लगभग चार लाख रुपियाँको सामग्री लिएर आएको बताए। प्राकृतिक आपदामा परेर घरविहीन बनेका मानिसहरूलाई यसरी सहयोग गर्न पाउँदा खुशी अनुभव भइरहेको तिनीहरूले थप बताए।

By Piyali Poddar