क्रिप्टोकरेन्सीः बिटकोइन माइन गर्दा कसरी निस्किन्छ फोहोरको डुङ्गुर

बिटकोइन बनाउने प्रक्रिया अर्थात् माइनिङबाट ठूलो परिमाणमा विद्युतीय फोहोर उत्पादन हुने गरेको एउटा अध्ययनले देखाएको छ। त्यसरी बन्ने फोहोरको परिमाण द नेदरल्यान्ड्सजस्तो देशमा सूचनाप्रविधिसँग सम्बन्धित खेर जाने साना उपकरणसँग तुलना गर्न सकिने देखिएको छ।

दुई अनुसन्धानकर्ता एलेक्स डि भ्रज र क्रिस्टियन स्टलको आकलनअनुसार क्रिप्टोकरेन्सी उत्पादन गर्दा प्रत्येक वर्ष ३०,७०० टन विद्युतीय फोहोर बन्छ।

औसतमा प्रतिकारोबार २७२ ग्राम फोहोर उत्पादन हुन्छ। तुलनाका लागि हामीले के जानिराखौँ भने आईफोन १३ को तौल १७३ ग्राम छ।

ऊर्जा खपत र प्रदूषण कस्तो?

माइनरहरूले नयाँ बिटकोइन बनाएर पैसा कमाउँछन्। तर त्यसका लागि आवश्यक “कम्प्युटिङ” प्रक्रियाले ठूलो परिमाणमा ऊर्जा खपत गर्छ।

उनीहरू विद्युतीय मुद्राको स्वामित्व लिने अवसरका लागि बिटकोइन कारोबारको अडिट गर्छन्।

त्यसका लागि प्रयोग हुने विद्युत्‌ तथा परिणामस्वरूप हुने हरितगृह ग्यासको प्रदूषणमा अहिले ध्यानाकृष्ट भएको छ। अहिले उपभोग हुने बिजुलीको परिमाण द फिलिपिन्सको भन्दा बढी छ।

तर माइनिङका लागि प्रयुक्त कम्प्युटरहरू थोत्रा भएपछि ती पनि विद्युतीय फोहोर बन्छन्।

अनुसन्धानकर्ताहरूका अनुसार बिटकोइन माइन गर्ने उपकरणहरूको औसत आयु १.२९ वर्ष छ।

फलतः उक्त कामबाट बन्ने विद्युतीय फोहोर द नेदरल्यान्ड्सजस्तो देशको “साना आईटी तथा सञ्चार उपकरण”को फोहोरजति हुने डि भ्रज र स्टलको अनुमान छ।

विद्युतीय फोहोरको त्यो श्रेणीमा मोबाइल फोन, पर्सनल कम्प्युटर, प्रिन्टर र टेलिफोनहरू पर्छन्।

यो अनुसन्धान रिसोर्सेस, कन्जर्भेशन एन्ड रिसाइक्लिङ नामक जर्नलमा प्रकाशित भएको छ।

कार्यदक्षता बढाउने प्रयास

बिटकोइन माइनरहरूका लागि बिजुली अत्यावश्यक तत्त्व हो। त्यसैले उनीहरूले कार्यक्षमता बढाउनका लागि शक्तिशाली प्रोसेसर खोजेका छन्।

हिजोआज त्यसका लागि एप्लिकेशन-स्पेसिफिक इन्टिग्रेटिड सर्किट (एएसआईसी) नामक अतिविशिष्ट चिप प्रयोग हुन थालेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार एएसआईसीहरू यति विशिष्ट हुन्छन् कि तिनलाई पछि अरू काममा वा अरू खालका क्रिप्टोकरेन्सी माइनिङको एल्गरिदममा पुनः प्रयोग गर्न सकिँदैन।

चिपहरू फेरि प्रयोग गर्न नसकिएपछि बिटकोइन माइन गर्न प्रयोग हुने उपकरणका अधिकांश अवयवहरू धातुबाट बनेका हुन्छन्। तिनको पुनः प्रयोग सम्भव छ।

विश्वभरि उत्पादन हुने केवल १७ प्रतिशत विद्युतीय फोहोरको पुनः प्रयोग हुने गरेको छ।

तर सम्भवतः बिटकोइन उत्पादकहरू बेका केही देशमा त्यो अंश अझ कम हुनसक्छ।

केही देशमा विद्युतीय फोहोरसम्बन्धी नियमकानुनहरू फितला छन्।

के हो बिटकोइन?

बिटकोइन एक प्रकारको क्रिप्टोकरेन्सी हो। यो डिजिटल वा भर्चूअल अर्थात् कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो।

क्रिप्टोकरेन्सीको केन्द्रीय ब्याङ्क हुँदैन र संसारभरिका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ।

यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ।

संसारभरि क्रिप्टोकरेन्सीको प्रचलन र भाउ बढ्दै गएका कारण मानिसहरूले सुन या भौतिक मुद्रा बेचेर यसमा लगानी गर्ने चलन बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *