विश्वकप फुटबलको छनोट चरणको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध उनले दुई गोल गर्दै आफ्नो गोल सङ्ख्या १११ पुर्याएका छन्। उक्त खेलमा पोर्चुगल २-१ ले नाटकीय रूपमा विजयी भयो।
सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गर्न तथा लगत्तै विस्तार गर्दा ३६ वर्षीय रोनाल्डोले खेलको अन्तिमतिर टाउकोबाट बल प्रहार गरेर दुई गोल गरेका थिए।
त्यसअघि उनले प्रहार गरेको पेनाल्टी आयरिश गोलरक्षक ग्याभिन बाजुनूले विफल पारिदिएका थिए।
इरानका लागि सन् १९९३ देखि २००६ सम्म १४९ खेलमा १०९ गोल गरेका अलि दाई यसअघि सर्वाधिक गोलकर्ता थिए।
रोनाल्डोले यूरो २०२० मा फ्रान्सविरुद्ध दुई गोल गरेर उक्त कीर्तिमानसँग बराबरी गरेका थिए।
म्यान्चेस्टर यूनाइटेडबाट क्लब फुटबल खेल्ने रोनाल्डो राष्ट्रिय टोलीका लागि १८० औँ खेलमा सहभागी भएर सेर्गियो रामोसको युरोपेली कीर्तिमानसँग पनि बराबरी गरेका छन्।
फिफाका अनुसार मलेशियाका सोह चिन आनले १९६९ देखि १९८४ सम्म १९५ खेल खेलेका थिए। त्यो नै अहिलेसम्मको विश्वकीर्तिमान हो।
नब्बे वा सोभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने रोनाल्डो र दाई मात्र दुई पुरुष खेलाडी हुन्।
“म निकै खुसी छु। कीर्तिमान भङ्ग गरेकाले मात्र हैन, हामीले पाएको विशेष क्षणका कारण,” उनले आरटीईसँग भने।
“खेलको अन्त्यतिर दुई गोल। टोलीले जे गर्यो त्यसको मैले प्रशंसा गर्नुपर्छ, हामीले अन्तिमसम्म विश्वास कायम राख्यौँ। म निकै प्रसन्न छु।”
उनको प्रदर्शनबाट रोनाल्डो अहिलेसम्मकै महान् खेलाडी हुन् भन्ने तर्कलाई बल पुग्छ।
क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युरोपियन कप/च्याम्पीअन्स लीगमा उनले सर्वाधिक गोल गरेका छन्। उनले उक्त प्रतियोगिता पाँच पटक जिताएका छन्।
रोनाल्डो पहिला रेयाल मड्रिडका लागि खेल्थे।
उनले युरोपियन च्याम्पीअन्शिपको इतिहासमा सर्वाधिक १४ गोल र युरो तथा विश्वकपमा कुल २१ गोल गरेका छन्।
रोनाल्डोले कहाँ कति गोल गरे?
- विश्वकप छनोट खेल – ३३
- युरोपियन च्याम्पीअन्शिप छनोट खेल – ३१
- मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल – १९
- युरोपियन च्याम्पीअन्शिप – १४
- विश्वकप – ७
- यूईएफए नेशन्स लीग – ५
- कन्फेडरेशन्स कप – २
रोनाल्डोले गरेका कुल गोलमध्ये झन्डै आधाजति खेलको अन्तिम ३० मिनेटमा भएका छन्।
उनले अन्तिम १५ मिनेटमा ३३ पटक गोल गरेका छन्।
रिपब्लिक अफ आयरल्यान्डविरुद्ध दुई गोल पनि सोही अवधिमा भएका थिए।
त्यसैगरी खेलको ६१ औँदेखि ७५औँ मिनेटमा उनले २२ गोल गरेका छन्।
उनले १६ देखि ३० मिनेटको बीचमा १७ गोल, ३१ देखि ४५ मिनेटको बीचमा १६ गोल गरेका छन्। खेलको पूर्वार्धमा १५ मिनेटभित्र ११ गोल र उत्तरार्धको १५ मिनेटभित्र १२ गरेका छन्।
रोनाल्डोले ९१ पटक बक्सभित्रबाट र २० पटक बाहिरबाट गोल गरेका छन्।
उनले १४ पटक पेनाल्टी र नौ पटक फ्रीकिकबाट गोल गरेका छन्।
उनले लिथ्यूएनीआ र स्वीडनविरुद्ध सात-सातवटा गोल गरेका छन्।
मेस्सीसँग तुलना
रोनाल्डोले १८० खेलबाट १११ गोल गरेका छन् भने आर्जेन्टिनाका चर्चित खेलाडी मेस्सीले १५१ खेलमा केवल ७६ गोल गरेका छन्।
एउटा खेलमा औसत ०.६ गोल गरेका रोनाल्डो ०.५ गोल गरेका मेस्सीभन्दा अगाडि देखिन्छन्।
मेस्सी सर्वोच्च गोलकर्ताको सूचीमा आठौँ स्थानमा छन्।
उनी अहिले ३४ वर्षका भए।
अहिलेकै अनुपातमा १११ अन्तर्राष्ट्रिय गोल गर्न उनले ४० वर्षको उमेरसम्म खेल्नुपर्ने हुन्छ।
रोनाल्डोको खेलजीवनको ठूलो उपलब्धि भनेको यूरो २०१६ को उपाधि थियो। तर फाइनल खेलमा उनी घाइते भएर पहिले नै बाहिरिए।
उनले १२ वर्षको अन्तरालमा यूरो सेमिफाइनलमा दुई पटक गोल गरे। सन् २००४ मा द नेदरल्यान्ड्स र सन् २-१६ मा वेल्सविरुद्ध।
रुसमा आयोजित विश्वकपमा उनले स्पेनविरुद्ध समूहचरणको खेलमा तीन गोल गरेका थिए।
आफू सहभागी नौवटै ठूला प्रतियोगितामा उनले गोल गरेका छन्।
उनले यूरो २०२० मा चार खेल खेलेर पाँच गोल गर्दै गोल्डन बूट हात पारेका थिए।