दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुइ करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ निकट अधिकारीहरूले शनिबार बताएका छन् ।
अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।
सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो । दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो । रासस/पीटीआई