बाउन्सरसहित काउन्सिलर छठ घाटमा

घाटमा त्यो बेला राम्रै भीड़ थियो। छठ व्रतीहरूदेखि सर्वसाधारण मानिससम्म सबैजना छठ माताको आराधनामा तल्लीन थिए। अकस्मात् सबैको ध्यान एक भक्तले दण्डी काटिरहेको दृश्यतर्फ तानियो। जसले दण्डी काटिरहेका थिए तिनीसित आठजना बाउन्सर पनि थिए। तिनी कुनै सेलिब्रिटी हुन् कि? धेरैले प्रश्न गरे। भीड़मा कतिपयले भने, होइन होइन, तिनी सेलिब्रिटी होइनन्, तिनी पाँच नम्बर वार्डकी भाजपा काउन्सिलर अनिता महतो हुन्। बस् त्यो दृश्य क्यामेरामा कैद भएपछि सामाजिक सञ्जालमा भाइरल बन्यो। तर स्पष्टीकरणमा जनप्रतिनिधि अनिता महतोले भनिन्, यी बाउन्सरहरू मेरा होइनन्। बाउन्सरको व्यवस्था छठ समितिले गरेको हो। छठ पूजाको पहिलो र दोस्रो दुवै दिन आठजना बाउन्सरसहित दण्डी काट्दै घाटमा पुगेकी थिइन् काउन्सिलर अनिता महतो।
यस विषयले ध्यान तानेपछि सिलगढ़ीका डेप्युटी मेयर रञ्जन सरकारले प्रतिक्रिया दिए। रञ्जन सरकारले भने, तिनी युट्युबर हुन् रे भनेको सुनेको छु। सम्भवतः भ्यू बढ़ाउनका लागि यस्तो गरिरहेका होलान्। तर यस्तो प्रदर्शन गरेर राज्यका महिलाहरू असुरक्षित छन् भन्ने देखाउन सकिन्छ भनेर यदि तिनलाई लाग्छ भने भन्न चाहन्छु हालै भाजपा शासित मध्य प्रदेशमा अष्ट्रेलियाका दुई महिला क्रिकेटरमाथि दुर्व्यवहार भयो। त्यसैले यस्तो राजनीति गर्नुको कुनै अर्थ छैन।
घटना सम्बन्धी प्रश्नमा अनिता महतोले भनिन्, मेरो वार्डमा सबैले मलाई दिदी जस्तै मान्छन्। त्यसैले मैले बाउन्सर मागेकी थिइनँ। मैले बाउन्सर बोलाएकी पनि होइन। पूजा समितिले बाउन्सर राखेको थियो। म घाटतर्फ जाँदै गर्दा समितिका सदस्यहरूले बाउन्सर पठाएका रहेछन्। क्यामेराम्यानहरू पनि समितिले नै पठाएको हो। त्यहाँ पुलिस प्रशासनका मानिसहरू पनि थिए। दण्डी काटेर घाट पुगेको घटनासित बाउन्सरको कुनै सम्बन्ध छैन।

By Piyali Poddar