बङ्गला भाषामा कुराकानी गर्दैमा दम्पत्तीसित दुर्व्यवहार

बङ्गला भाषामा कुराकानी गरेको निहुँमा कोचबिहारका एक दम्पत्तीसित भाजपा शासित राज्य हरियाणामा दुर्व्यवहार गरिएको आरोप लागेको छ। तिनीहरूलाई केवल मौखिक रूपमा मात्र होइन तर पुलिसले थानामा लगी लामो समयसम्म सोधपुछ गरेर रोकेको आरोप पनि छ। अन्ततः सोमवार दिउँसो तिनीहरू रिहा भए पनि अब तिनीहरू उक्त राज्यमा बस्न सक्ने हुन् कि होइनन् भन्ने चिन्तामा छन् कोचबिहारको जिरानपुरका सिरोज आलम मियाँ र तिनकी श्रीमती शाकिरन बीबी। यस घटनामा राज्यको सत्तारूढ़ दल तृणमूलले स्वाभाविक रूपमा भाजपामाथि आक्रोश व्यक्त गरेको छ। अन्य राज्यहरूमा बङ्गला भाषीहरूमाथि भइरहेको दुर्व्यवहारको मुद्दा सोमवार नवान्नमा बसेको राज्य मन्त्री परिषदको बैठकमा पनि उठेको थियो। सूत्रअनुसार बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, अब यसविरुद्ध आवाज उठाउने समय आइसकेको छ। यस राज्यमा डेढ़ करोड़ अन्य राज्यका नागरिकहरू बसोवास गर्छन् अनि यहाँ तिनीहरू सुरक्षित छन्। तर बङ्गालका 22 लाख मानिसहरू अन्य राज्यहरूमा बस्न जाँदा दुर्व्यवहार भोगिरहेका छन्। यो किन भइरहेको छ? मुख्यमन्त्रीले मन्त्रीहरूलाई सड़कमा उत्रेर विरोध जनाउने निर्देशन पनि दिएकी छन्।

हरियाणाको घटनाको सुरुआत आइतवार दिउँसो 4 बजीतिर भएको हो। गुरुग्रामको सेक्टर 56 मा एउटा होटलमा काम गर्ने सिरोज श्रीमतीसहित सेक्टर 55 को घाटागाउँ भन्ने ठाउँमा भाड़ामा बस्छन्। आइतवार दिउँसो सिरोज काममा व्यस्त रहँदा तिनकी श्रीमतीले फोन गरेर घरमा पुलिस आएको र थानामा लैजान खोजेको जानकारी दिइन्। खबर सुनेपछि सिरोज तुरुन्तै घर पुगे। तिनीहरू बस्ने ठाउँमा बिहार र पश्चिम बङ्गालका अन्य परिवारहरू पनि बस्छन्। सोही दिन हरियाणा पुलिसको टोली त्यहाँ घर-घरमा कागजात जाँच्न पुगेको थियो। पुलिसले को को बङ्गाली हुन् भनेर पनि सोधखोज गरिरहेको थियो। पुलिस देखेर सिरोजकी श्रीमती शाकिरन बीबीले हिन्दी–बङ्गला मिसाएर बोलेपछि पुलिसले तिनलाई बङ्गलादेशी भनेर शङ्का गर्योी। त्यसपछि पुलिसले आधार कार्ड, मतदाता परिचयपत्रसितै मोबाइल पनि जाँच गर्योश। मोबाइलमा केही बङ्गलादेशी नागरिकका नम्बर भेटिएपछि पुलिसले शाकिरन बीबीलाई थानामा लैजान खोज्यो। तर अन्ततः सिरोजलाई नै पुलिस थानामा लगियो।
राति 9 बजीसम्म तिनलाई सोधपुछ गरियो। सोमवार सिरोजले भने, पुलिसले भन्यो तिमीहरू बङ्गलादेशी हौ, यहाँ व्यापार गर्छौ! तिमीहरूको मोबाइलमा यति धेरै बङ्गलादेशी नम्बर किन छन्? को–कोसित कुराकानी गर्छौ? यति धेरै फोटो र मेसेज किन आदान–प्रदान गर्छौ? मैले बारम्बार भनेँ हाम्रो घर पश्चिम बङ्गालको कोचबिहार हो, हामी बङ्गलादेशी होइनौँ। तर तिनीहरूले हाम्रो कुरा सुन्न चाहेनन्। राति 9 बजीतिर हामीलाई छोड़ियो। सोमवार बिहान 10 बजी फेरि पुलिसको टोलीले सिरोजलाई बोलायो। फेरि पनि निरन्तर सोधपुछ गरियो। केही कागजातहरू र मोबाइलमा भएका तीनवटा नम्बर टिपोट गरी पुलिसले तिनीहरूलाई छोड्यो।सिरोजले भने, म पहिले साउदी अरबियामा काम गर्थेँ। त्यहाँ एकजना बङ्गलादेशी युवकसित मित्रता भएको थियो। केही बङ्गलादेशीसित सामान्य कुराकानी गर्ने र फोटो आदान–प्रदान गर्ने सम्बन्ध मात्र हो। त्यसभन्दा बढ़ी केही होइन। हामी यहाँ 10 वर्षदेखि बस्दै आइरहेका छौँ। यसअघि यस्तो समस्या कहिल्यै आएको थिएन। अहिले डर लागिरहेको छ यहीँ बस्ने कि काम छाड़ेर कोचबिहार फर्किने हो! केही थाहा छैन।आइतवार राति नै तिनीहरूले आफ्नो घरमा यसबारे खबर गरेका थिए। सोमवार बिहान सिरोजका पिता जाहिरुद्दिन मियाँ अनि केही गाउँलेहरूलाई साथमा लिएर कोचबिहारका पूर्व सांसद पार्थप्रतिम रायसित जिल्ला प्रशासनमा गए। जिल्ला शासक अरविन्द कुमार मिना उपस्थित नहुँदा तिनीहरूले अतिरिक्त जिल्ला शासक शान्तनु बालासित भेट गरे। तिनीहरूले परिचयपत्रसहित सबै कागजात प्रशासनमा बुझाए। पछि पार्थप्रतिमले भने, सिरोजहरू टुटे-फुटेको हिन्दी बोल्दा र बङ्गाली भएकै कारण तिनीहरूलाई बङ्गलादेशी रहेको शङ्का गरेर पुलिसले पक्राउ गर्यो । यसबारे प्रशासनलाई जानकारी गराएका छौँ र मुख्यमन्त्रीसमक्ष पनि विषय उठाइँदैछ।जाहिरुद्दिनले बताएअनुसार तिनी स्वयं गाउँ पञ्चायत कार्यालयमा लामो समय काम गरिसकेका छन्। 14 वर्षीया छोरी अनि 10 वर्षीय छोरालाई घरमै छोड़ेर तिनका छोरा र बुहारी दुवै पैसा कमाउन गुरुग्राम बसेका छन्। यस घटनाले तिनीहरू पनि त्रसित भएका छन्।

By Piyali Poddar