एक गर्भवती महिलाको मृत्युको कारणर विवाद उत्पन्न भएको छ। सोमवार बिहान जलपाइगढ़ी मेडिकल कलेज तथा अस्पतालको प्रसुति विभागमा उक्त घटना भएको हो। 25 वर्षीय मोहसिना बेगम जलपाइगढ़ी सदर ब्लकको बहादुर ग्राम पञ्चायतको सरकारपाड़ा क्षेत्रकी निवासी थिइन्। सोमवार बिहान प्रसव पीड़ा आरम्भ हुँदा मोहसिनालाई परिवारका सदस्यहरूले जलपाइगढ़ी मेडिकल कलेज तथा अस्पताल पुऱ्याए। तर अस्पतालको मदर एण्ड चाइल्ड हबको आपत्कालीन विभागका चिकित्सकले तिनलाई मृत घोषित गरे।
यता मृत महिलाका परिवारजनले अस्पतालमा उपचारमा लापरवाही भएको आरोप लगाएका छन्। परिवारको दाबीअनुसार गत हप्ता जब मोहसिनालाई प्रसव पीड़ा भएको थियो तब तिनलाई अस्पताल ल्याइएको थियो। त्यसपछि एक दिनका लागि अस्पतालमा भर्ना गरिए पनि चिकित्सकहरूले तिनलाई डिस्चार्ज गरिदिए। अब परिवारले प्रश्न उठाएको छ किन त्यो बेला तिनलाई डिस्चार्ज गरियो? यही विषयंमा परिवारजन आक्रोशित छन्। यद्यपि घटनासित सम्बन्धित कुनै उजुरी सोमवार रातिसम्म दर्ता गरिएको थिएन अनि अस्पताल प्रशासनले कुनै लापरवाही स्वीकार्न मानेको छैन। जलपाइगढ़ी मेडिकल कलेज तथा अस्पतालका एमएसभीपी डा. कल्याण खानले भने, यहाँ कुनै पनि प्रकारको उपचारमा लापरवाही भएको छैन किनभने उक्त महिलालाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो। त्यसैले शवलाई पोस्टमर्टमका लागि पठाइएको हो। परिवारको आरोपबारे तिनले थपे, गत बिहीवार उक्त महिलालाई अस्पताल ल्याइएको थियो। तर त्यस समयमा प्रसव पीड़ा आरम्भ भएको थिएन। चिकित्सकहरूले परीक्षण गर्दा तिनको प्रसव मिति यही महिनाको मध्यतिर रहेको बताएका थिए। त्यसैले तिनलाई एक दिन अस्पतालमा राखेर डिस्चार्ज गरिएको थियो। यहाँ उपचारमा कुनै लापरवाही भएको छैन। तर मृत्युको वास्तविक कारण पत्तो लगाउन आवश्यक छ। जुन पोस्टमर्टम रिपोर्ट आएपछि मात्रै स्पष्ट हुनेछ।
केही दिनअघि नै परिवारजनले स्वास्थ्य परीक्षणका लागि मोहसिनालाई अस्पतालको पीपीयूमा ल्याएका थिए।
त्यति बेला एक आशा कार्यकर्ता पनि तिनीसँगै थिइन्। चिकित्सकहरूले परीक्षणपछि तिनको अवस्था सामान्य रहेको बताए र प्रसवको तोकिएको मिति आउनअघि यदि कुनै असहजता अनुभव भए तुरुन्तै अस्पताल ल्याउन भनेका थिए। गत बिहीवार जब मोहसिनालाई फेरि प्रसव पीड़ा आरम्भ भयो। परिवारजनले तिनलाई जलपाइगढ़ी मेडिकल कलेजको प्रसुति विभागमा पुऱ्याए। अस्पतालले तिनलाई भर्ना गर्योल र चिकित्सकहरूले शल्यक्रिया आवश्यक पर्ने बताए। त्यसका लागि परिवारलाई एक युनिट रगत व्यवस्था गर्न भनियो। तर पछि चिकित्सकहरूले तत्काल शल्यक्रिया नगर्ने निर्णय गरे किनभने प्रसवको समय अझै पुगेको थिएन। त्यसैले तिनलाई एक दिन अस्पतालमा राखेर घर फर्काइयो। सोमवार बिहान फेरि प्रसव पीड़ा भएपछि परिवारजनले तिनलाई अस्पताल लगे। तर त्यहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरे। मृत महिलाका लोग्ने शाहजहान सिराजले भने, अस्पताल ल्याएपछि चिकित्सकहरूले मेरी श्रीमतीलाई मृत घोषणा गरे। अस्पताल ल्याउन ढिलो भएको बताइयो। हाम्रो प्रश्न छ जब केही दिनअघि नै तिनलाई अस्पतालमा भर्ना गरिएको थियो। किन त्यति बेला शल्यक्रिया गरेर बच्चा जन्माउन दिइएन? यहाँ स्पष्ट रूपमा गम्भीर लापरवाही भएको छ। हामी यस घटनाको निष्पक्ष छानबिनको माग गर्छौं।