तीन हप्तापछि 12 नम्बर राज्य मार्ग खोलिएको छ। आइतवारदेखि दूधे हुँदै मिरिकतर्फ वाहनहरूको आवागमन गर्न सकिनेछ। यद्यपि सरकारी रूपमा सड़क सोमवार खोलिनेछ। पीडब्ल्यूडी विभागका एकजना अधिकारीले यस विषयमा शनिवार रातभरि पुल निर्माणको काम हुने स्पष्ट जानकारी दिएका छन्। अर्को दिन अर्थात् आइतवारको बिहानसम्म पुल निर्माणको काम समाप्त गर्न भनिएको छ। त्यसपछि गाड़ी चलाएर परीक्षण गरिनेछ। सबै ठिक रहे सोमवारदेखि सामान्य यातायात आरम्भ हुनेछ। तर गह्रौँ वस्तु बोक्ने गाड़ीहरूको आवागमनमा अहिले अनुमति दिइएको छैन। ती गाड़ीहरू सुखियापोखरी, घुम, खरसाङ हुँदै जानु पर्नेछ।
4 अक्टोबर राति भीषण वर्षासितै बालासन नदीमा तीव्र जल स्तरमा वृद्धि भयो। त्यसकारण दूधेमा फलामको पुल भत्किएर मिरिकसित सड़क सम्पर्क बन्द भएको थियो। 6 अक्टोबरदेखि पूर्वाधार विभागले भत्किएको फलामको पुलको लगभग 100 मिटर टाढ़ा नदीमा ह्युमपाइप राखेर वैकल्पिक अस्थायी पुल बनाउने काम आरम्भ गऱ्यो। मुख्यमन्त्री ममता ब्यानर्जी दूधेको स्थिति निरीक्षण गर्न आएर भनेकी थिइन्, 15 दिनभित्र पीडब्ल्यूडी विभागले अस्थायी पुल बनाइदिनेछ। तर बालासनमा पानीको बहाउ धेरै तीव्र भएको हुँदा विभाग समस्यामा पर्नु परेको थियो। अन्ततः शुक्रवार मध्य नदीमा 60 वटा ह्युमपाइप राखेर अस्थायी पुल निर्माण पूरा गरियो। शनिवार बिहानदेखि दुवैतर्फ सड़क मार्गहरूको काम आरम्भ भएको थियो। दिनभरि ढुङ्गा-बालुवा हालेर काम भइरहेको देखिएको थियो। आइतवार बिहानसम्म निर्माण पूरा गरी दिउँसो परीक्षण गरियो।
दूधेको सेण्ट मेरी ग्राम पुञ्चायत प्रधान सन्तोष तामाङले भने, दीर्घ प्रतीक्षा र चिन्तापछि यसले राहतको समाचार ल्याएको छ। दूधे हुँदै मिरिकको सड़क सम्पर्क चाँड़ै खोल्न अत्यन्त आवश्यक थियो। आपतकालीन स्थितिका कारण पछिल्ला तीन हप्तामा स्थानीय अर्थतन्त्रमा ठूलो धक्का परेको छ। पर्यटक नआएपछि पसल र बजारमा बिक्री घटेको छ। सड़क खोलिएपछि फेरि भीड़ आउनेछ। दूधे फेरि आफ्नै पुरानो लयमा फर्किने सन्तोष जस्ता अन्य धेरैले विश्वास राखेका छन्।
दूधे अस्थायी पुलको निर्माण कार्य समाप्त
