सेनामा भर्ना युवकहरूलाई गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चल अधीनस्थ गोर्खा एक्स सर्विसमेन एसोसिएशन मिरिक फिजिकल एकाडेमीले सम्मान जनाएको छ। यो वर्ष यस एकाडेमीमा प्रशिक्षण लिइरहेका दुईजना टीएमा अनि पन्ध्रजना अग्निवीरमा भर्ना भएका छन्। ती युवाहरूलाई नै बधाई अनि सम्मान जनाइएको हो। यस अवसरमा एकाडेमीमा प्रशिक्षण लिन आउने युवाहरूलाई पनि स्वागत जनाइएको छ। कार्यक्रममा गोर्खा एक्स सर्विसमेन एसोसिएशन मिरिक फिजिकल एकाडेमीका प्रमुख प्रशिक्षक अवकाश प्राप्त सुवेदार मेजेर धुर्व थापा मगर, अवकाश प्राप्त नायकहरू विशाल थापा, रवि राई, गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चलका अध्यक्ष अनरेरी कप्तान मिलन चोम्बाङ, सचिव हवलदार प्रदीप गुरुङ लगायत अभिभावकहरू उपस्थित थिए। यस एकाडेमीमा हाल मिरिक, सिटोङ, खोप्रेल, बाघडुग्रा लगायत अन्य क्षेत्रका लगभग 40 जनाले प्रशिक्षण लिइरहेका छन्।
गोर्खा एक्स सर्विसमेन एशोसिएशन मिरिक फिजिकल एकाडेमीका प्रमुख प्रशिक्षक अवकाश प्राप्त सुवेदार मेजर धुर्व थापा मगर अनि गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चलका अध्यक्ष अनरेरी कप्तान मिलन चोम्बाङले गोर्खा एक्स सर्विसमेन एसोसिएशन मिरिक फिजिकल एकाडेमीले भारतीय सेनामा भर्ना हुन चाहने आकाङ्क्षी युवकहरूलाई केवल पाँच सय रुपियाँको मासिक शुल्कमा तीन महीनाको प्रशिक्षण प्रदान गर्दै आइरहेको बताए। यसै क्रममा यो वर्ष यस एकाडेमीका दुईजना टीए अनि पन्ध्रजना अग्निवीरमा भर्ना भएपछि तिनीहरूलाई बधाई दिँदै सम्मान गरिएको पनि तिनीहरूले बताए।
एकाडेमी पूर्ण रूपले सामाजिक भावनाले स्थापना गरिएको अनि यसको उद्देश्य युवाहरूलाई उचित मार्गनिर्देशन गर्न साथै उचित प्रशिक्षण प्रदान गर्न रहेको तिनीहरूको भनाइ छ। एकाडेमीमा दक्ष प्रशिक्षकहरू रहेका जानकारी गराँउदै तिनीहरूले इच्छुक युवाहरूले एकाडेमीसित सम्पर्क गर्न सक्ने बताए। सेनामा भर्ना हुन चाहने युवकहरूलाई निष्ठापूर्वक प्रशिक्षण पूरा गर्ने सल्लाह दिँदै देशको सेवामा समर्पित बन्ने पनि तिनीहरूले आव्हान गरे। यता सेनामा भर्ना भएका युवकहरू अनि तिनीहरूका अभिभावकहरूले हर्ष प्रकट गर्दै प्रशिक्षकहरूलाई कृतज्ञता व्यक्त गरेका छन्।