सौरभ गाङ्गुलीको अधुरो स्कूलबारे अन्योलता

सौरभ गाङ्गुलीको स्कूलका लागि एसजेडीएको जमीन अधिग्रहण गर्दा चेयरम्यान थिए अशोक भट्टाचार्य। अहिले त्यस जमीनबारे अशोक भट्टाचार्य भन्छन्, सौरभ गाङ्गुलीले मलाई जानकारी गराएका थिए कि तिनी अब सिलगढ़ीको हिमाञ्चल बिहारमा स्कूल बनाउन इच्छुक छैनन्। एसजेडीएको पछिल्लो बोर्डका अध्यक्ष सौरभ चक्रवर्तीले भने, उक्त स्कूलका लागि लिइएको जमीनको लिज सौरभ गाङ्गुलीकै नाममै छ। एसजेडीएका यी दुई पूर्व अध्यक्षहरूको भनाइपछि मतिगढ़ा हिमाञ्चल बिहारमा टीम इण्डियाका पूर्व कप्तानको स्कूलबारे नयाँ विवाद उठिरहेको छ। क्रिकेटबाट सन्न्यास लिएर उद्योगपति बनेका सौरभ गाङ्गुलीको स्कूलका लागि लिइएको उक्त जमीनबारे एसजेडीएको वर्तमान धारणा के छ? भन्ने अब प्रश्न उठेको छ। यसबारे जान्न एसजेडीएका कार्यकारी अधिकारी अर्चना वानखेड़ेसित पटक-पटक सम्पर्क गर्न खोज्दा पनि तिनीसित सम्पर्क हुन सकेन। फेरि सौरभ गाङ्गुलीकै तर्फबाट पनि यसबारे कुनै प्रतिक्रिया आएको छैन।

टीम इण्डियाका पूर्व कप्तान सौरभ गाङ्गुलीले शालबनीमा इस्पात उद्योग स्थापना गर्ने घोषणा गरेपछि त्यसबारे राज्यको राजनीतिमा निकै चर्चा भएको थियो। तर त्यो कारखाना कहिले बनिन्छ भन्ने प्रश्न अझै छ। यता सिलगढ़ीको हिमाञ्चल बिहारमा ठूलै प्रचारसहित घोषणा गरिएको स्कूलको परियोजना भने हालसम्म ठप्प छ। 6 वर्षभन्दा अधिक समयदेखि स्कूल भवन निर्माणको काम अधुरै छ। अहिले उक्त क्षेत्र झाड़ीले ढाकिएको छ। वाम शासनकालमा सिलगढ़ी-जलपाइगढ़ी विकास प्राधिकरण (एसजेडीए) का तत्कालीन अध्यक्ष अशोक भट्टाचार्यले सौरभलाई स्कूल बनाउन हिमाञ्चल बिहारमा जमीन उपलब्ध गराएका थिए। तीन ऐकरभन्दा अधिक जमीनमा तृणमूल कङ्ग्रेसको शासनकालमा काम आरम्भ गरिएको थियो। त्यस क्रममा सौरभले केही पटक आएर निर्माण कार्यको निरीक्षण पनि गरेका खबर छ। तर 2019 मा अचानक निर्माण कार्य रोकियो। अहिले चार तल्लासम्म निर्माण सम्पन्न भइसकेको छ तर बाँकी संरचना अधुरै छ। अहिले त्यो अधुरो भवन नशाखोरहरूको अखड़ा बनेको छ।अशोक भट्टाचार्यले भने, स्कूल निर्माण कार्य आरम्भ हुने विषयमा सौरभसित कुराकानी भएको थियो। तर पछि तिनले स्कूल बनाउने योजना त्यागेको बताए। त्यसपछि भने हामीबीच यस विषयमा कुनै कुराकानी भएन। 2019 मा उक्त स्कूल निर्माणस्थलको सुरक्षा गार्डको रूपमा पथरघट्टा ग्राम पञ्चायतका मणि बर्मनले काम गर्दै थिए। तिनले लगभग एक वर्ष काम गरे पनि पारिश्रमिक नपाएको गुनासो थियो। तिनले भने, ठेकेदार कम्पनीले काम छोड़ेर गेटमा ताला लगाएर हिँड्यो। मैले पैसा मागेँ, तर अहिलेसम्म पाएको छुइनँ।

राज्य सरकारले अघिल्लो समय कैयौँ उद्योगपतिहरूबाट प्रयोग नभएका जमीन फिर्ता लिएको थियो। यस्तो अवस्थामा के सौरभ गाङ्गुलीको उक्त जमीन फिर्ता लिइयो भन्ने प्रश्न उब्जिएको छ। एसजेडीएका पूर्व अध्यक्ष सौरभ चक्रवर्तीले भने, जाँच गर्दा थाहा भयो कि अहिलेसम्म उक्त जमीन सौरभ गाङ्गुलीकै नाममा लिजमा छ। तर तिनले स्कूलका लागि के योजना बनाएका छन् त्यसबारे थाहा छैन।सौरभको यस परियोजनाबारे विपक्षी दलहरूले कटाक्ष गर्न छोड़ेका छैनन्। भाजपा ऴिधायक शङ्कर घोषले भने, सौरभको स्कूल होस् वा कारखाना, अहिलेसम्म केही पनि वास्तविक रूपमा देख्न पाइएन। तिनलाई नै यसबारे सोच्न जरुरी छ।पत्थरघट्टाका स्थानीय वासिन्दाहरू सौरभको स्कूलबारे एक समय निकै उत्साहित थिए। त्यहाँका वासिन्दा नारायण बर्मनले भने, स्कूलको शिलान्यास कार्यक्रममा सौरभ गाङ्गुली आफै आएका थिए। पछि एक-दुईपल्ट कामको प्रगति हेर्न पनि आए। तर कोरोना महामारीपछि काम रोकियो र अहिले त्यो ठाउँ समाज विरोधी गतिविधिहरूको अखड़ा बनेको छ। हिमाञ्चल बिहारमा सौरभको स्कूल बन्ने जमीननजिक एउटा निजी संस्थाले ठूलो शैक्षिक संस्थान खोलेर सञ्चालन गरिरहेको छ। हिमाञ्चल बिहार सोशियल वेलफेयर कमिटीका सदस्य विभूति कुमार ठाकुरले भने, यदि सौरभको स्कूल बनेको भए यो क्षेत्र अझै व्यस्त र आकर्षक बन्ने थियो।

By Piyali Poddar