टास्क फोर्स बजारबाट फर्किन साथ आलु, प्याज र अन्य सब्जीको मूल्य फेरि बढ्यो। यस्तो कार्वाहीलाई देखावटी प्रक्रियाको संज्ञा दिँदै ग्राहकहरूले आलोचना गरेका छन्। सोमवार सिलगढ़ीको विधान मार्केटमा टास्क फोर्सले अभियान चलाएको थियो। शुरुमा चम्पासारीको थोक बजारमा पुगेर अधिकारीहरूले सब्जीहरूको मूल्य बुझ्ने प्रयास गरे। त्यसपछि तिनीहरू विधान मार्केटको खुद्रा सब्जी बजारमा पुगे। त्यहाँका केही विक्रेताहरूले थोक मूल्यको रसीद देखाउन नसकेका गुनासो थियो। अत्यधिक नाफा राखेर तिनीहरूले सब्जी बिक्री गरिरहेको आरोप उठ्यो। अधिकारीहरूले कम्ती नाफामा साग-सब्जी बेच्ने निर्देश दिए तर त्यसको कुनै प्रभाव परेको देखिएन।
अधिकारीहरू बजारमा रहेका बेला केही समय मूल्य घटाइने ग्राहकहरूको आरोप छ। तर अधिकारीहरू बजारबाट गएपछि फेरि मूल्य अकासिन्छ। साथै टास्क फोर्सले न जरिमाना गर्योत, न कुनै कानूनी कार्वाही। बजारमै एकजना व्यक्तिले नियन्त्रण बजारका सचिवलाई यस्तो गुनासो गरे। एकजना ग्राहकले भने, देखावटी कार्वाही गरेर मूल्य घटाउन सकिन्छ र? जरिमाना वा कानूनी कार्वाही नगर्ने हो भने मूल्य त बढ्ने नै छ। नियन्त्रित बजारका सचिव अनुपम मैत्रले भने, जरिमाना वा कानूनी कार्वाही गर्ने स्थिति भए हामी त्यसअनुसार कार्वाही गर्थ्यौँ। तर त्यस्तो स्थिति छैन। भण्डारण गरेर मूल्य वृद्धि गर्ने वा अत्यधिक नाफा राखेर बेचेको भए कार्वाही गर्न सकिन्थ्यो। प्राप्त गुनासोअनुसार विधान मार्केटमा पुरानो आलु प्रति किलो 35-40 रुपियाँमा बिक्री भइरहेको छ। टास्क फोर्सका अधिकारीहरूले एकजना विक्रेतालाई 30 रुपियाँमा आलु बेच्ने निर्देश दिए तर तिनले विभिन्न बहाना बनाए। त्यसपछि अधिकारीहरू त्यहाँबाट फर्किए। त्यसो भए टास्क फोर्स अभियानको के अर्थ भयो? धेरै ग्राहकहरूले प्रश्न गरे। नियन्त्रित बजारका सचिव अनुपम मैत्रले भने, प्याजको मूल्य घट्न थालेको छ। नयाँ आलु बजारमा आएपछि मूल्य कम्ती हुनेछ। हामी बेला-बेला अभियान चलाइरहेका छौँ।
अन्य राज्यहरूमा आलुको निर्यातमाथि रोक लगाउन प्रशासनले कदम चाल्ने निर्देश दिएको छ। तर कोल्ड स्टोरहरूमा पर्याप्त आलु नभएको दाबी गरिएको छ। व्यापारीहरूअनुसार कोल्ड स्टोरमा जम्मा 6-7 प्रतिशत आलु बाँकी छ र तीमध्ये अधिकांश बिउका लागि छुट्याइएको छ। तर यति धेरै भण्डारण गरिएको आलु अचानक कहाँ गयो? व्यापारीहरूको भनाइअनुसार प्रशासनले सही कदम नचाल्दा आलु बङ्गलादेश र छिमेकी राज्यहरूमा पठाइयो। यसले गर्दा मूल्यमा वृद्धि भएको हो।