कमिश्नरेटले रोबिन थापालाई मुर्शिदाबाद नपठाउने

वक्फ संशोधन कानूनको विरोधमा केही दिनदेखि मुर्शिदाबाद जिल्लाको केही क्षेत्र तनाउग्रस्त छन्। स्थिति नियन्त्रणमा ल्याउन केन्द्रीय सुरक्षा बल तैनाथ गरिएको छ। पछिल्ला घटनामा तीनजनाको मृत्यु भएको थियो। मुर्शिदाबादको स्थिति अहिले नियन्त्रणमा रहेको पश्चिम बङ्गाल पुलिसका डीजी राजीव कुमारले जानकारी दिएका छन्। मुर्शिदाबादको स्थिति सम्हाल्न राज्य सरकारले 23 जना दक्ष पुलिस अधिकारीहरूलाई आपतकालीन रूपमा डाकेको थियो। यसै क्रममा सिलगढ़ीको 4 नम्बर वार्डको ज्योतिनगरमा पनि स्थिति तनाउग्रस्त बनेको छ। यस्तो स्थितिमा राज्यको सूचीमा रहेका सिलगढ़ीका एकजना पुलिस अधिकारीलाई मुर्शिदाबाद नपठाउने सिलगढ़ी पुलिस कमिश्नरेटले निर्णय गरेको छ।
प्राप्त जानकारीअनुसार मुर्शिदाबादको स्थितिको सम्हाल्न राज्यका विभिन्न जिल्लाबाट 23 दक्ष पुलिस अधिकारीहरूलाई बोलाइएको छ। उक्त सूचीमा उत्तर बङ्गालबाट दुईजना अधिकारीहरू थिए। ती हुन् सिलगढ़ी कमिश्नरेटका एसीपी रोबिन थापा र कालेबुङका डिप्टी एसपी भानु राई। राज्यको आपतकालीन डाकपछि रोबिन थापा चार दिनका लागि मुर्शिदाबाद जान तयार थिए। तर सिलगढ़ी क्षेत्रमा उत्पन्न समस्याको कारण सिलगढ़ीका पुलिस कमिश्नर सी. सुधाकरले तिनलाई रिलिज अर्डर जारी गरेनन्।
सिलगढ़ी पुलिसका डीसीपी (जोन 1) राकेश सिंह बिदामा भएकाले रोबिन थापालाई हाल ज्योतिनगर क्षेत्रको जिम्मावारी दिइएको छ। तिनी अहिले सिलगढ़ीमै रहनेछन्। तिनको साटो एसीपी ट्राफिक रथीन मजुमदारलाई मुर्शिदाबाद पठाइएको छ। सिलगढ़ी कमिश्नरेटका डीसी (पश्चिम) विश्वचन्द ठाकुरले भने, रोबिन थापाको यस क्षेत्रमा आवश्यकता हुँदा तिनलाई रोकिएको हो। तिनको साटो एसीपी ट्राफिक रथीन मजुम्दारलाई मुर्शिदाबाद पठाइएको हो। राज्यले नवान्नबाट 23 जना पुलिस अधिकारी र कर्मचारीलाई चार दिनका लागि मुर्शिदाबादमा तैनाथ गर्न आपतकालीन रूपमा आदेश दिएको थियो। तर रोबिन थापा मुर्शिदाबाद जानअघि नै ज्योतिनगर क्षेत्रमा पनि तनाउ आरम्भ हुँदा तिनलाई रोकिएको हो। अर्कातिर ज्योतिनगर घटनापछि सम्पूर्ण शहरमा सतर्कता जारी गरिएको छ। संवेदनशील क्षेत्रहरूमा सादा पोशाकमा पुलिस तैनाथ गरिएको छ।

By Piyali Poddar