मिरिक नगरपालिका कार्यालयका सफाई कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले मङ्गलवार मिरिक झीलमा व्यापक सफाई अभियान चलाएका छन्। मिरिक झीलको एक भागमा सोमवार केही माछाहरू मरेका अवस्थामा देखिए साथै धेरै फोहोर थुप्रिएका देखिएको थियो। त्यसलाई केन्द्र गरेर मङ्गलवार मिरिक नगरपालिकाका सफाई कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले संयुक्त रूपमा सफाई अभियान चलाएका बताइएको छ। सफाई अभियानमा मिरिक झीलमा मरेका माछाहरूलाई उचित स्थानमा फाल्ने व्यवस्थान गरिएको छ अनि फोहोरहरूलाई सङ्ग्रह गरेर मिरिक नगरपालिकाको गाड़ीले उचित स्थानमा तह लगाएको छ।
सफाई अभियानमा निस्किएका मिरिक नगरपालिकाका सफाईकर्मीहरू अनि स्थानीय पथ पसलेहरूले मिरिक झीलमा रहेका फोहोरहरूलाई नियमित अन्तरालमा सफाई गर्दै आइरहेको बताए। तर बर्खा मौसम रहेको कारणले कतिपय ठाँउबाट भल बगेर फोहोर मिरिक झीलमा थुप्रिने हुँदा समस्या बढ़ेको तिनीहरूको भनाइ छ। यद्यपि तिनीहरूले निरन्तर सफाई गरिरहेको जनाए। मङ्गलवार पनि मिरिक झीलको सफाई गरियो।
मिरिक झीललाई सफा राख्ने दायित्व सम्बन्धित निकायको मात्र नभएर स्थानीय मानिसहरूसितै यहाँ घुम्न आउने पर्यटकहरूको पनि रहेको बताउँदै तिनीहरूले सबैलाई डस्टबिनको प्रयोग गर्ने अनि जतासुकै फोहोर नफालिदिने निवेदन गरेका छन्। त्यसो गरिए मात्र मिरिक झील सफा रहने तिनीहरूको भनाइ छ।
