भारत नेपाल सीमामा रहेको सिमाना बजारदेखि लगभग एक किलोमिटर दूरीमा रहेको नेपालको चित्रे बस्ती खेतीका लागि प्रसिद्ध छ। यहाँका लगभग पैँतालीस परिवार खेतीपाती, पशुपालनमा निर्भर छन् भने यहाँका मुख्य आय स्रोत नै खेतीपाती र पशुपालन हो। भौगोलिक दृष्टिकोणले कृषिका लागि उपयुक्त मानिने चित्रे बस्तीमा सबैभन्दा धेरै मूला, कोपी, धनिया, गाजर, सिमरायो, ,रायो साग, मटर, आलु जस्ता साग-सब्जी उत्पादन गरिन्छ। यहाँ उत्पादित अधिकांश साग-सब्जी भारतीय बजारमा नै बिक्री गरिने स्थानीय कृषक किशोर खड़काले बताए। तिनले भने, चित्रे बस्ती भारत नेपाल सीमामा रहेको एउटा कृषि योग्य भूमि हो। यहाँका मानिसहरूको मूख्य आयको स्रोत नै खेतीपाती हो। गाईको मलमा रोपिने यहाँको साग सब्जीको माग र दाम दुवै राम्रो छ। यहाँ उत्पादित अधिकांश साग-सब्जी सिलगढ़ीको आरतहरूमा नै लगिने तिनले बताए। यो वर्ष मूलाको खेती राम्रो भएको जानकारी गराँउदै एक बोरा मूला पाँच सयदेखि तीन हजारसम्म बिक्री हुने गरेको पनि बताए। खड़काले यहाँ उत्पादित सागसब्जी मिरिक, दार्जीलिङका मुख्य सड़क किनार पशुपति फाटकदेखि सिमानासम्म बिक्रीका लागि पनि राखिने बताए। उक्त सड़कमा ओहोर दोहोर गर्ने मानिसहरूले ती सब्जीहरू खरीद गर्ने तिनको भनाइ छ। तिनले सब्जी मौसमअनुसार यहाँ सागसब्जी उत्पादन गरिने अनि सब्जी नहुँदा दूध बिक्री गरेर यहाँका मानिसहरूले आमदानी गर्ने गरेका पनि जनाए।
खेतीपातीमा रम्दै चित्रे बस्ती
