चीनले सैन्य चाप बढाए एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी,

मंगलबार अन्तरिक्षमा पहिलो फिल्म सुटिङ, ताइवान र चीनबीच तनाव बढ्ने संकेत, फेसबुकका सीईओ मार्क जुगरवर्गले मागेको माफी लगायतका समाचारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुख स्थान पाए । त्यस्तै अफगानिस्तानमा तालिबानले हजारा जातिको हत्या गरेको एमनेस्टी इन्टरनेशनलको रिपोर्ट सार्वजनिक भएको खबर पनि चर्चामा रह्यो । प्रस्तुत छ, विश्वका केही प्रमुख खबरहरू :

०००

ताइवानमा सैन्य चाप बढाउन चीनको निर्देशन, सैन्य उपस्थितिले एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी 
बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको टापु क्षेत्रमा सैन्य चाप अझै बढाउन निर्देशन दिएका छन्। उनले मंगलबार चीनको उच्चस्तरीय सैन्य अधिकारीसँगको भेटपछि सो निर्देशन दिएका हुन्। 

चिनियाँ स्रोतका अनुसार राष्ट्रपति सीले मंगलबार चीनको सबैभन्दा ठुलो सैन्य निकाय सेन्ट्रल मिलिट्रि कमिसनसँग भेट गरेका छन्। यसै महिनाको सुरुवातमा अमेरिका र जापानसहित अन्य छवटा लोकतान्त्रिक मुलुकले ताइवाननजिकै सामुद्रिक टापुमा सैन्य अभ्यास गरेको सन्दर्भमा राष्ट्रपति सीले सो भेट गरेको बताइएको छ। 

चीनले गत शुक्रबारदेखि निरन्तर ताइवानको वायु रक्षा क्षेत्रमा ठुलो संख्यामा आफनो युद्धक विमान पठाइरहेको छ। विगत तीन दिनमा चीनले करिब १५० युद्धक विमान ताइवानको रक्षा क्षेत्रमा पठाएको छ। 

यता ताइवानले चीनले सूचनाबिना आफ्नो रक्षा क्षेत्रमा विभिन्न बहानामा युद्धक विमान पठाएको भन्दै आपत्ति जनाइरहेको छ। मंगलबार ताइवानका राष्ट्रपति साई इङ वेनले चीनको गतिविधिले एसिया क्षेत्रमा शान्ति खलबलिने र विनाशकारी अवस्था आउन सक्ने चेतावनी दिएकी छिन्।
०००

व्यापार सम्झौता पुरा गर्न चीनलाई अमेरिकाको दबाब 
वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले व्यापार सम्झौतामा गरेको प्रतिबद्धता पुरा गर्न चीनलाई दबाब दिएको छ। प्रशासनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालनमा भएको दुई देशबिचको व्यापार सम्झौता पुरा गर्न चीनलाई दबाब दिएको हो। 

चीन–अमेरिकाबिचको व्यापार नीति सम्बन्धी प्रतिबद्धता चीनले पुरा नगरेको आरोप व्यापार प्रतिनिधि क्याथरिन ताईले लगाएकी छन्। ‘चीनले ‘पहिलो चरण’को सम्झौता पूर्ण रुपमा सम्बोधन गरेको छैन’ क्याथरिनले भनेकी छन्, ‘आफ्नो अनुचित व्यापार अभ्यासले व्यापार सम्झौतामा गरेको प्रतिबद्धतामा पनि चीन असफल बनेको छ।’ 

चीन र अमेरिकाबिच सन् २०१७ मा करिब २०० बिलियन डलरको व्यापार सम्झौता भएको थियो। जसअनुसार अमेरिकाले उत्पादन गरेको वस्तु खरिदमा वृद्धि गर्ने प्रतिबद्धता चीनले गरेको थियो। सो सम्झौताको समयावधि सन् २०२१ सम्मको लागि तोकिएको थियो। 

अमेरिकाले चीनसँग नयाँ व्यापार सम्झौताको लागि वार्ता गर्न चाहेको समेत ताईले बताएकी छन्। 
०००

भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकलाई 
स्टकहोल्म : यस वर्ष भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकले पाएका छन्। मंगलबार घोषणा गरिएको नोवेल पुरस्कार वैज्ञानिक स्युकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीले पाएका हुन्।

जटिल भौतिक प्रणाली बुझ्न र जलवायु परिवर्तनको भविष्यवाणीबारे उनीहरुले गरेको खोजको लागि दी रोयल स्विडिस एकाडेमी अफ साइन्सले २०२१ को नोवेल पुरस्कारले सम्मान गरेको हो। 

वैज्ञानिक मानाबे र हसलम्यानले जलवायु परिवर्तनको परिमार्जनशीलता र यसको भविष्यवाणाीमाथि संयुक्त खोज गरेका थिए भने जर्जियोले परमाणुदेखि ग्रहसम्मको अन्तरक्रिया र उतारचढावबारे खोज गरेका थिए। 

मानाबे सन् १९३१ मा जापानमा जन्मिएका थिए भने हसलम्यान सन् १९३१ म जर्मनीमा जन्मिएका थिए। पेरिसी सन् १९४८ मा इटालीमा जन्मिएका थिए। 
०००

सिंगापुरमा विदेशी हस्तक्षेप रोक्न भन्दै विवादित कानुन पारित 
सिंगापुर : सिंगापुरको संसदले मंगलबार एक विवादित कानुन पारित गरेको छ। विदेशी हस्तक्षेप रोक्न र नियन्त्रणका लागि भन्दै संसदले विवादित कानुन पारित गरेको हो। 

सो कानुनले देशको हितमा नभएका इन्टरनेट प्रदायक सेवा र अन्य सामाजिक सञ्जालमार्फत दिइने सूचनामा प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दिएको छ। देशको सुरक्षाका लागि कतिपय बाह्य सूचना खतरनाक हुुने भन्दै गम्भीर खतराको लागि सो कानुन आवश्यक रहेको सिंगापुर सरकारले जनाएको छ। 

करिब १० घण्टा लामो बहसपछि सोमबार मध्य राति सो कानुन पारित गरिएको थियो। 

सो कानुनले देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप रोक्ने अपेक्षा सिंगापुर सरकारले गरेको छ। यद्यपि, विज्ञहरुले सिंगापुरको सो कानुन विवादित बन्ने अनुमान गरेका छन्। 
०००

अन्तरिक्षमा फिल्म छायांकन गर्ने रुस संसारको पहिलो मुलुक 
मोस्को : रुसले मंगलरबार अन्तरिक्षमा फिल्म छायांकन सुरु गरेको छ। अन्तरिक्षमा फिल्म छायांकन गर्ने रुस संसारकै पहिलो मुलुक बनेको छ। 

पृथ्वीदेखि ३५४ किलोमिटर दुरीमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा रुसले पहिलो फिल्म छायांकन सुरु गरेको हो।

छायांकनको लागि फिल्म निर्देशक, क्रु सदस्यको टोली एलन मस्कको कम्पनीले निर्माण गरेको रकेटमार्फत अन्तरिक्षमा पुगेको छ। सो फिल्मको छायांकन १२ दिनसम्म चल्ने बताइएको छ। 

अन्तरिक्षमा छायांकन थालिएको फिल्मलाई रुसका सञ्चारमाध्यमले प्राथमिकता दिएका छन्। 

यस वर्षको सुरुवातमा हलिउड अभिनेता टम क्रुइजसहित नासा र स्पेस एक्सले हलिउड परियोजनाअन्र्तगत अन्तरिक्षमा फिल्म छायांकन गर्ने घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *