हँसिलो मुद्रामा देखा पर्ने चिनियाँ ब्लगर गुयान्मुचान चीनको लोकप्रिय सामाजिक सञ्जाल वेबोमा आकर्षक र मैत्रीपूर्ण व्यक्तित्वसहित प्रस्तुत हुन्छिन्।
ट्विटरजस्तो उक्त मञ्चमा ती युवतीका ६४ लाखभन्दा बढी प्रशंसक छन्। वेबोमा उनी समसामयिक विषयमा आफ्नो विचार र भिडिओ राख्छिन्।
तर उनले गर्ने चर्को कुरा र उनको नाममा तादाम्य देखिँदैन।
एउटा पोस्टमा उनले युरोपेली सङ्घ ईयू अमेरिकाको “कुकुरलाई बाँध्ने डोरीमा” भएको लेखेकी छन्।
अर्को एउटा पोस्टमा अमेरिकाको टेक्ससमा बढेको कोभिड दर “गृहयुद्धको प्रमाण” भएको लेख्दै उनले “अमेरिकीहरूले जैविक युद्ध गरेर एकअर्कालाई मारिरहेको” दाबी गरेकी छन्।
गुयान्मुचान चिनियाँ राष्ट्रवादसँग जोडिएर त्यहाँको सामाजिक सञ्जालमा लोकप्रिय ब्लगरहरूको एउटा नयाँ समूह ‘जिगानु’ की सदस्य हुन्।
उक्त नामले ‘वुमाओ’ भनिने अरूको खिसीटिउरी गर्ने एउटा कुख्यात समूह बुझाउँछ। वुमाओले पैसा लिएर राज्यको प्रोपागान्डा फैलाउँथ्यो भने जिगानुले सित्तैमा गरिदिन्छ।
उनीहरूका तिखा पोस्ट र भिडिओहरू दशौँ हजार प्रशङ्सकहरूले शेअर गरिरहेका हुन्छन्।
प्राय: ती सामग्रीमा पश्चिमा देश र सञ्चारमाध्यमको आलोचना गरिएको हुन्छ।
पश्चिमा प्रभावका अस्त्रका रूपमा चिनियाँ समाजलाई “भ्रष्ट पार्ने” उद्देश्यले नारीवाद, मानवाधिकार, बहुसंस्कृतिवाद, प्रजातन्त्रजस्ता मुद्दाहरू प्रयोग भएको दाबी उनीहरू गर्छन्।
ताइवान र हङ्कङका प्रजातन्त्रवादीलाई उनीहरू “पृथक्तावादी’ भन्छन्। अभियानकर्मी, बौद्धिक वर्ग र विज्ञहरू प्राय: उनीहरूको निसानामा पर्छन्।
उनीहरूले लेखिका फाङ फाङको पनि खेदो गरेका थिए। वुहानमा कोरोनाभाइरस महामारी फैलिन उनले सुरुमा आफ्ना अनुभव सार्वजनिक गरेर विश्वको ध्यानाकृष्ट गराएकी थिइन्।
जिगानुका एक ब्लगरले फाङ फाङले “पिठियूँमा गहिरो छुरा हानेको” र “चीनविरोधी शक्तिले हामीमाथि धाबा बोल्न एउटा ठूलो अस्त्र सिर्जना गरेको” आरोप लगाएका थिए।
हालै निसानामा परेका एकजना वरिष्ठ चिकित्साविज्ञ झाङ वेन्हङको दोष चिनियाँ अधिकारीहरूको धारणासँग नमिल्ने खालको सुझाव दिनु थियो। उनले चीनले कोभिडसँग जिउन सक्नुपर्ने बताएका थिए।
केही ब्लगरहरू तत्कालै पुराना कुराहरू खोतल्छन् र बौद्धिक चोरीको आरोप लगाउँछन्।
बालबालिकाले बिहानको खाजामा दूध खानुपर्छ भन्ने एउटा सुझावलाई परम्परागत चिनियाँ खाजा र मूल्यलाई अस्वीकार गरिएको रूपमा चित्रण गरियो।
एक ब्लगरले लेखेका थिए, “के यो पश्चिमा विश्वको धेरै नै भक्ति भएन?”
विज्ञहरूका अनुसार दैनिक दर्जनौँका सङ्ख्यामा आउने त्यस्ता पोस्ट निकै लोकप्रिय हुनुको कारण ती छोटा र भावनात्मक हुनु हो।
“यो फास्ट-फूड राष्ट्रवाद हो,” चिनियाँ सोशल मिडिया विश्लेषक मान्या कोत्से भन्छिन्।
“मानिसहरूलाई त्यो थोरै मात्र भए पुग्छ, उनीहरू शेअर गर्छन् र बिर्सिन्छन्।”
विस्फोटक मिश्रण
चीन र पश्चिमा विश्वबीच तनाव बढ्न थालेकाले राष्ट्रवादको भावना बढेको धेरैलाई लाग्छ। तर त्यो सम्पूर्ण सत्य हैन।
संसारभरि राष्ट्रवादको लहर चलिरहँदा चीनमा राष्ट्रपति सी जिन्पिङले चिनियाँ पहिचानलाई सामाजिक सञ्जालमा बलियो रूपमा प्रवर्धन गर्न खोजेको देखिन्छ।
धेरैजसो ‘जिगानु’हरू तन्नेरी र राष्ट्रवाद तथा चीनप्रति गौरव गर्नुपर्छ भन्ने शिक्षा पाएका मानिसहरू भएको कोत्सेको भनाइ छ।
उनी भन्छिन्, “त्यसैले तिनमा विदेशविरोधी, चीनपक्षधर र चिनियाँ संस्कृति र पहिचानमा परेको धक्काको विस्फोटक मिश्रण पाइन्छ।”
जिगानुहरूको सरकारसँग सीधा सम्बन्ध छ कि छैन भन्ने स्पष्ट छैन।
को हुन् गुयान्मुचान?
गुयान्मुचानको वास्तविक नाम सु चाङ हो। उनले सन् २०१४ मा ‘तिमी चिनियाँ नागरिक हौ’ शीर्षकमा निबन्ध लेखेर आफ्नो परिचय स्थापित गरेकी थिइन्।
उक्त निबन्धलाई व्यापक रूपमा मूलधारका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका थिए। उनी ब्लगरहरूको एउटा भेलामा सहभागी भइन्, सरकारी सञ्चारमाध्यमले आयोजना गरेको कक्षामा प्रवचन दिइन्।
ग्वाङ्दोङ प्रान्तले जुलाईमा छानेका ‘इन्टरनेट दूत’मा उनी पनि परेकी थिइन्।
यी ब्लगरहरूको प्रभाव चीनले अनलाइन अभिव्यक्तिमा ल्याएका कडा नियमहरूसँगै बढेको देखिन्छ जहाँ सर्वसाधारण नागरिक र अभियानकर्मीमाथि चर्को निगरानी भएको देखिन्छ। वेबो र वीच्याटजस्ता अनलाइन मञ्चबाट ‘संवेदनशील’ पोस्टहरू नियमित रूपमा हटाइन्छ।
जिगानु एउटा जटिल चक्रको एउटा पाटो मात्र हो। चिनियाँ सामाजिक सञ्जाल र खासगरी वेबोमा धेरैजसो राष्ट्रवादी चर्चाको नेतृत्व सरकारी सञ्चारमाध्यमहरूले गर्छन्।
अनि तिनले एउटै ह्याशट्याग बनाउने र प्रवर्धन गर्ने काम गर्छन्।