फेरि मुर्शिदाबादमा हृदयघातको कारण एक बीएलओको मृत्यु भएको छ। बिहीवार राति मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआरR) को कार्य गर्ने क्रममा जाकिर होसेन नामक बीएलओ अचानक अस्वस्थ बनेर ढले। तुरुन्तै अस्पताल लगिए पनि तिनलाई बचाउन सकिएन। हृदयघातको कारण तिनको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अत्यधिक कामको दबाउकै कारण तिनको ज्यान गएको जाकिरको परिवारको दाबी छ।
मुर्शिदाबादको खडग्रामका वासिन्दा जाकिर कान्दी विधानसभा क्षेत्रको दिघा क्षेत्रमा रहेको 14 नं. बूथका बीएलओ थिए। पेशाले प्राथमिक विद्यालयका शिक्षक जाकिरको परिवारअनुसार, तोकिएको समयमा सबै एनुमरेशन फारम बुझाउन सकिन्छ कि सकिँदैन भन्ने तनाउमा थिए तिनी। रातभरि जागो रहेर फारम अपलोड गर्ने काम गर्थे। लगभग प्रत्येक दिन लगातार रातभरि काम गर्दा तिनी अस्वस्थ हुँदै गएको परिवारले बताएको छ। परिवारका एक सदस्यअनुसार, प्रत्येक बिहान एसआईआरको कामका लागि जाकिर निस्कन्थे। फेरि धेरै रातिसम्म एनुमरेशन फारम सर्भरमा अपलोड गर्थे। अत्यधिक कामको चापकै कारण यस्तो दु:खद घटना भएको तिनीहरूको दाबी छ।
एसआईआरको कारण बीएलओहरू निरन्तर त्रसित र समस्यामा परिरहेका गुनासो प्रत्येक दिन नै सार्वजनिक भइरहेकै छ। यति बेला राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस चुनाउ आयोगविरुद्ध मुखर बनेको छ। असन्तोष, आक्रोश र बहस चलिरहेको छ। यी सबैबीच एकपछि अर्को गरी बीएलओको मृत्यु भइरहेको घटनाले विभिन्न निकायहरूमा गम्भीर प्रश्न उठिरहेको छ।
मुर्शिदाबादमा हृदयघातको कारण बीएलओको मृत्यु
