प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा गरेका हुन् । गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उनीहरूका बीचमा पहिलो पटक भौतिक रूपमा भेटवार्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका •बेला उनीहरूका बीचमा भेटवार्ता भएको हो।
प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मक रूपमा लिएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। उनीहरूका बीचमा पूर्व निर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धिमूलक भएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडे नलाई भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ, त्यसलाई राष्ट्रपति बाइडेनले सकारात्मक रूपमा लिँदै धन्यवाद दिनुभएको छ वक्तव्यमा लेखिएको छ।
भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले भेटवार्तामा उनीहरूले साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्बन्धलाई अझ बलियो बनाउने लगायतका विषयमा कुराकानी गर्नुहुने भएको जानकारी दिए । प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल भएको जनाइएको छ । उनीहरू बीच रक्षा, व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई थप गर्ने बारेमा पनि छलफल भएको उनले बताए । प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे पनि चर्चा भएको बताइएको छ ।