‎मिरिकमा भीमदेव मन्दिरको उद्घाटन

अखिल भारतीय नेवार सङ्गठन मिरिक आञ्चलिक समितिको तत्त्वावधानमा भीमदेव निर्माण समितिको पहलमा मिरिक देवीस्थान परिसरमा भीमदेव मन्दिरको उद्घाटन गरिएको छ। गुर्जु अलङ्कार शाक्यको नेतृत्वमा भीमदेवको मूर्तिको प्राणप्रतिष्ठान गरियो। भीमदेवको विधिपूर्वक पूजा आराधना गरेर मन्दिरको शुभ उद्घाटन गरियो। गुर्जु सुमन शाक्य, गुर्जु शिवकुमार प्रधान, गुर्जु जितेन प्रधान, गुर्जु प्रकाश शाक्य, गुर्जु अमरदीप प्रधान आदिले यस पूजामा गुर्जु अलङ्कार शाक्यलाई सहयोग गरेका थिए। 102 वर्षीय विष्णुमाया प्रधान अनि 93 वर्षीय शिलामाया प्रधानको बाहुलीबाट रिबिन काटेर मन्दिर सार्वजनिक गरियो।
आरम्भमा नेपालबाट आएका लाखे अनि नेवार नृत्य टोलीले मिरिक बजार र कृष्णनगर परिक्रमा गरेर बुद्ध पूर्णिमाको अवसरमा शान्ति, मैत्री र समृद्धिको सन्देश आदानप्रदान गरे। मन्दिर निर्माण समितिका सचिव विवेक नेवारले आर्थिक, शारीरिक एवम् मानसिक रूपले सहयोग पुऱ्याउने महानुभावहरूलाई धन्यवाद प्रकट गरे। अखिल भारतीय नेवार सङ्गठन मिरिक आञ्चलिक समितिको पक्षबाट भीमदेव मन्दिर समितिलाई अभ्यर्थना प्रकट गरियो। कार्यक्रममा मिरिक, बाघडुग्रा, सिक्किम, नागरी, नक्सलबारी, मगरजोङ आदि स्थानबाट नेवारहरू भेला भएर पूजाअर्चना गरे।

By Piyali Poddar