काँड़े तारको बार लगाउने कार्यमा अड़चन

मालदाको सुकदेवपुरमा खुल्ला सिमानाको भारतीय भूभागमा काँड़े तारको बार लगाउने कार्य बिहीवार पनि रोकियो। सीमा सुरक्षा बल (बीएसएफ) सूत्रअनुसार काम आरम्भ गर्दा बोर्डर गार्ड बङ्गलादेशीको तर्फबाट कुनै बाधा नभए पनि विशेष कारणले खाँबो लगाउन खाल्डो खन्ने काम भने रोकिएको हो। बीएसएफको साउथ बङ्गाल फ्रण्टियरका एकजना अधिकारीले भने, हामी शान्तिपूर्ण तरिकाले काँड़े तारको बार लगाउन चाहन्छौँ। हामी आफैले खाल्डो खन्ने काम रोकेका छौँ। काम छिट्टै आरम्भ हुनेछ।
यसैबीच बिहीवार बङ्गलादेशको बेनापोलमा बीएसएफ र बीजीबीका उच्च अधिकारीहरूको बैठक भयो। बीएसएफ सूत्रअनुसार, बैठकमा सीमा व्यवस्थापन र शान्ति कायमसितै सीमामा भइरहेको आपराधिक कार्यविरुद्ध संयुक्त प्रयास र सीमावर्ती क्षेत्रको विकास सम्बन्धी विषयहरूमाथि छलफल भयो। बीएसएफको तर्फबाट बैठकमा उपस्थित आईजी (दक्षिण बङ्गाल) मनिन्दर पीएस पावरले भने, राम्रो वातावरणमा सबै विषयबारे छलफल भएको छ। बीजीबीको तर्फबाट ब्रिगेडियर जनरल मोहम्मद हुमायुन कबीर बैठकमा उपस्थित थिए। मालदाको कालियाचक-3 ब्लकको बाखराबाद पञ्चायतको सुकदेवपुर बोर्डर आउट पोस्ट (बीओपी) देखि सबदलपुर बीओपीसम्म लगभग डेढ़ किलोमिटर क्षेत्रमा मरा गङ्गा नदी रहेको हुँदा त्यहाँ बङ्गलादेशको सिमाना प्रायः खुल्लै छ। मङ्गलवार त्यहाँ खाँबो लगाउन खाल्डो खन्ने कार्य आरम्भ हुँदा बीजीबीले विरोध गरेको आरोप लागेको थियो। त्यसपछि क्षेत्रमा तनाउ फैलियो।
बुधवार कार्य आरम्भ भए पनि दिउँसो फेरि बीजीबीको ‘विरोधको कारण कार्य रोकियो। बुधवार दिउँसो दुवै पक्षबीच फ्ल्याग मिटिङ भयो। महदीपुर बीओपीमा बीएसएफ अनि बीजीबी अधिकारीहरूको बैठक भयो। सूत्रअनुसार, बैठकमा खाँबो लगाइने क्षेत्रको दस्तावेजको आधारमा बीजीबीसित छलफल भयो। तर उक्त दिन नयाँ खाल्डो खन्ने कार्य भने भएन। सुकदेवपुरका वासिन्दाहरूअनुसार एक वर्षअघि उक्त क्षेत्रमा काँड़े तारको बार लगाउन मरा गङ्गा नदीको किनारमा माटोको बाँध बनाउँदा बीजीबीले कुनै आपत्ति जनाएन। तर यसपल्ट किन विरोध गरिरहेको छ भनेर प्रश्न उठेको छ। बीएसएफ सूत्रअनुसार उक्त खुल्ला सिमानामा काँड़े तार लगाउन 400 वटा खाल्डो खन्नु पर्नेछ। तीमध्ये 100 भन्दा बढ़ी खाल्डो खनिएको छ। बाँकी खाल्डो खन्ने क्रममा विरोध भइरहेको छ। उक्त दिन काम भएन तर खुल्ला सिमानामा बीएसएफले सुरक्षा व्यवस्था कठोर बनाएको थियो। गस्ती पनि बढ़ाइएको थियो। सुकदेवपुर क्षेत्रका वासिन्दाहरूलाई खुल्ला सिमानानजिक नआउने निर्देश दिइयो। दिउँसो बङ्गलादेश भूभागमा भने केही मानिसहरूको भीड़ देखियो। बीएसएफ सूत्रअनुसार बेनापोल बैठकमा अवैध रूपमा सीमा पार गर्न रोकथाम गर्ने उपाय र प्रभावकारी सीमा व्यवस्थापनका विभिन्न मुद्दाहरूमाथि छलफल भयो। आईजी (दक्षिण बङ्गाल) ले सुरक्षित सीमा वातावरण, स्थिरता सुनिश्चित गर्ने र समृद्धि बढ़ाउन दुवै बलबीच आपसी सहयोगको महत्त्वमाथि जोड़ दिए। दुवै देशका प्रतिनिधिहरूले भारत-बङ्गलादेश सहकार्यको भावना बढ़ाउन निरन्तर प्रयास गर्ने प्रतिज्ञा दोहोर्यागए।

By Piyali Poddar