दार्जीलिङ शहर घुम्न जाँदा ग्लेनरिज नजाने भन्ने कुरा पर्यटकहरूका लागि असम्भव जस्तै हो। तर क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको ठीक अगाड़ि ग्लेनरिज रेष्टुरेण्टलाई ठूलो धक्का लागेको छ। मङ्गलवार आबकारी विभागले तीन महीनाको लागि ग्लेनरिजको सय वर्ष पुरानो बार बन्द गरिदिएको छ। यो खबर फैलिन साथ दार्जीलिङमा तीव्र विवाद उत्पन्न भएको छ। ग्लेनरिजका मालिक इण्डियन गोर्खा जनशक्ति फ्रण्टका अध्यक्ष तथा जीटीए सभासद अजय एडवर्ड्स हुन्। यसका पछाड़ि राजनीतिक उद्देश्य रहेको आरोप अजय एडवर्ड्स र तिनका टोलीका नेताहरूले लगाएका छन्। मङ्गलवार रातिदेखि दार्जीलिङ जिल्ला आबकारी विभागले दार्जीलिङ शहरको ऐतिहासिक ग्लेनरिज बार बन्द गरिदिएको हो। सूत्रअनुसार बारविरुद्ध धेरै अनियमितताको आरोप छ। सरकारी स्वीकृति र आवश्यक कागजातबिना बार सञ्चालन गरेको आरोप पनि ग्लेनरिज कर्तृपक्षमाथि लागेको छ। यिनै आरोपका आधारमा मङअगलवार जिल्ला आबकारी विभागले ग्लेनरिज बारमा छापा मारेको थियो। आवश्यक कागजातको अभाव तथा नियम विपरीत गतिविधि देखिएको भन्दै आगामी तीन महीनाका लागि बार बन्द गर्ने आदेश दिइएको हो।
यस विषयमा दार्जीलिङ जिल्ला आबकारी विभागको क्राइम ब्राञ्चका डेपुटी कलेक्टर सरन्या बारिकले भने, ग्लेनरिजले राज्यको आबकारी नियम उल्लङ्घन गरेको आरोप लागेको छ। त्यसैले यो चर्चित बार–कम–रेस्टुरेण्ट र सङ्गीत कार्यक्रम बन्द गराइएको हो। लाइसेन्स तीन महीनाका लागि निलम्बित गरिएको छ। तिनले चाहे यस अवधिभित्र अपील गर्न सक्छन्। तर अनियमितताका आधारमा जुन कानूनी कारवाही आवश्यक हुन्छ त्यो प्रक्रिया अवश्य अघि बढ़ाइनेछ।
1888 मा स्थापना गरिएको यस रेस्टुरेण्टको इतिहासमा यो पहिलोपटक बार बन्द गरिएको घटना हो। बार, बेकरी अनि रेस्टुरेण्ट गरेर ग्लेनरिजका तीन विभाग छन्। मालिक अजय एडवर्ड्सले भने, गोर्खाल्याण्ड नामाकरण गरेर टुङसुङमा पुल बनाएको कारण राजनीतिक प्रतिशोध स्वरूप यस्तो गरिएको हो। एक वर्षअघि कागजात बुझाए पनि अहिलेसम्म स्वीकृति प्राप्त भएको छैन। तिनले अझ भने, जहाँ गीत–सङ्गीत चल्छ त्यहाँको लाइसेन्स वैध छैन। मेरा म्यानेजरले पहिले नै कागजात बुझाइसकेका थिए। पहिलेका एसपीले केही बताएका थिएनन्। तर अहिले आएका नयाँ एसपीले बार बन्द गर्न आदेश दिएका छन्। ग्लेनरिजका म्यानेजर अशोक तामाङले भने, प्रशासनको यस आदेशका कारण क्रिसमस र नयाँ वर्षका बुकिङहरू रद्द हुन थालेका छन्। यस निर्णयले दैनिक सङ्गीत प्रस्तुति दिने कलाकारहरूसहित आठजना कर्मचारी निराश भएका छन्। साथै मोठ 250 जना कर्मचारीहरू समस्यामा परेका छन्। पर्यटन सिजनमा थप 50 भन्दा अधिक कर्मचारी काम गर्थे। अब तिनीहरू पनि प्रभावित हुनेछन्। सिजनको भरपुर समयमा यसरी लोकप्रिय नाइट क्लब बन्द हुँदा पर्यटकहरू स्वाभाविक रूपमा दुखी भएका छन्।
ग्लेनरिजको बार सिल
