अवैध रूपले भारत प्रवेश गरेको आरोपमा फेरि एसएसबीको जालमा एकजना बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। भारत–नेपाल सीमा क्षेत्रमा पर्ने पानी ट्याङ्कीमा बिहीवार अबेर राति विशेष अभियान चलाउँदा तिनलाई एसएसबीका जवानहरूले नियन्त्रणमा लिएका हुन्। पक्राउ परेका व्यक्तिको नाम मोहन्त बर्मन बताइएको छ। प्राप्त जानकारीअनुसार भारतमा अनाधिकृत रूपले प्रवेश गरेको 10 महीनाभित्रै तिनले दलाल गिरोहमार्फत भारतीय आधार कार्ड र प्यान कार्डसमेत बनाइसकेका थिए। तिनी बङ्गलादेशको ठुकगाउँ जिल्लाका वासिन्दा हुन्।
एसएसबी सूत्रअनुसार उक्त बङ्गलादेशी नागरिक 10 महीनाअघि भारत–बङ्गलादेश सीमाको हल्दीबारी इलाकाबाट एक दलालको सहयोगमा भारत प्रवेश गरेका थिए। भारतका विभिन्न स्थान घुमेपछि तिनी नेपाल सीमावर्ती पानी ट्याङ्कीको कालीमन्दिर छेउमा रहेको एउटा भाड़ाको घरमा बस्न थालेका थिए। यसैबीच तिनले मोटो रकम बुझाएर दलालको सहायतामा भारतीय आधार कार्ड र प्यान कार्डसमेत बनाए। एसएसबीले तिनीबाट बङ्गलादेशको राष्ट्रिय परिचय-पत्र फेला पारेको छ।
एसएसबीले पक्राउ परेका उक्त बङ्गलादेशी नागरिकलाई खोरीबारी पुलिसको जिम्मा लगाएको छ। पुलिसले तिनलाई पक्राउ गरी शुक्रवार दिउँसो सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरेको छ। तिनले कसरी भारतीय आधार कार्ड र प्यान कार्ड बनाए भनेर खोरीबारी पुलिसले जाँच थालेको छ।
