जलमग्न क्षेत्रको निरीक्षण गर्न पुगेका खगेन मुर्मू र शङ्कर घोषमाथि आक्रमण

जलमग्न क्षेत्र निरीक्षणका क्रममा भारतीय जनता पार्टी (भाजपा) का सांसद अनि विधायकमाथि आक्रमण भएको छ। सोमवार नगराकट्टाअन्तर्गत बामनडाङ्गा क्षेत्रमा निरीक्षणका क्रममा भाजपा सांसद खगेन मुर्मू र विधायक शङ्कर घोषमाथि आक्रमण भएको हो। खगेन रक्ताम्मे भए, शङ्कर घोषको गाड़ीको सबै ऐना फुटाइयो। दिदीका सैनिकहरूले नै आक्रमण गरेका शङ्कर घोषको आरोप छ। त्यसै बेला उत्तर बङ्गाल विकासमन्त्री उदयन गुहाले भने, आइतवार त यहाँ कुनै भाजपा नेता वा मन्त्रीलाई देखिएन। आज मुख्यमन्त्री आउँदैछन् भन्ने सुनेपछि मानिसहरूलाई उक्साउने प्रयास गरियो। त्यसको प्रतिक्रियामा साधारण मानिसहरूले नै विरोध प्रदर्शन गरे।
आज सुरक्षा घेरामा रहेका माल्दा उत्तरका सांसद खगेन मुर्मू र सिलगढ़ीका विधायक तथा विधानसभाका विपक्षी दलका प्रमुख सचेतक शङ्कर घोष पैदलै जलमग्न क्षेत्रमा जाँदै थिए। आरोपअनुसार, अचानक सुरक्षा घेरो तोड़ेर पछाड़िबाट कसैले शङ्कर घोषलाई धक्का दियो। तिनी ठेलिएर अघि पुगे। सुरक्षा कर्मीहरूले सांसदलाई त्यहाँबाट निकाल्ने प्रयास गरे। जीवनरक्षाका लागि शङ्कर र खगेन दुवै गाड़ीको दिशातर्फ दौड़िए। तिनीहरूलाई पछ्याउँदै केही युवाहरू पनि दौड़िए। त्यही समयमा सांसदमाथि पछाड़िबाट प्रहार गरिएको, तिनको नाकमा चोट लागेको, रगतले अनुहार र कपड़ा लतपत बनेको आरोप छ। शङ्कर घोषको भनाइमा त्यो समय केही पुलिस त्यहाँ थिए। तिनीहरूमाथि आक्रमण भइरहेको देखेपछि तिनीहरू बिस्तारै हटे।
घटनाको कठोर निन्दा गर्दै भाजपा प्रदेश अध्यक्ष समिक भट्टाचार्यले एक्स ह्याण्डलमा लेखे, आज नगराकट्टामा तृणमूलका गुण्डाहरूद्वारा सांसद खगेन मुर्मूमाथि आक्रमण गरिएको छ। यस राज्यमा कानूनी शासन होइन गुण्डा शासन चलिरहेको छ। हिजो उत्तर बङ्गालमा यति ठूलो क्षति हुँदा पनि मुख्यमन्त्री ममता ब्यानर्जी कार्निभलमा व्यस्त थिइन्। आज तिनका पार्टीका गुण्डाहरू यसरी ताण्डव मच्चाइरहेका छन्। तर उत्तर बङ्गाल विकासमन्त्री उदयन गुहाले भने, यस्तो घटनालाई हामी पनि समर्थन गर्दैनौँ। तर जो दुईजना यहाँ आएका थिए एकजना सिलगढ़ीका विधायक, अर्को मालदाका सांसद। तिनीहरूलाई त नगराकट्टाका मानिसहरूले चिन्दैनन्। तिनीहरूलाई के थाहा को तृणमूल, को भाजपा, को सीपीएम? जस जसेले आक्रमण गरे तिनीहरूले कुनै पार्टीको झण्डा बोकेका थिएनन्।

By Editor