सोमवारदेखि सात दिनसम्म बाङ्लादेशमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ। त्यसैकारण मानिसहरू व्यस्त ढाका शहर छोडेर विभिन्न अन्य शहर र गाउँमा रहेका आफ्ना घर जान हतार गरिरहेका छन्। अहिले बाङ्लादेशमा कोभिड हुनेको सङ्ख्या बढेको छ र धेरै जनामा भारतमा पहिलोपटक देखा परेको डेल्टा भेरिअन्ट भएको बताइएको छ।
बाङ्लादेशमा पछिल्लो लहर करिब छ हप्ता अगाडि सुरु भएको हो। १५ मे मा त्यहाँ २६१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो। शुक्रवार त्यहाँ ५,८६९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १०८ जनाको मृत्यु भएको थियो। शुक्रवारको तथ्याङ्क कोरोनाभाइरस महामारी सुरु भए यताकै बाङ्लादेशको दोस्रो उच्च मृत्यु सङ्ख्या हो। धेरै अस्पतालमा बिरामीहरू भरिभराउ छन् र खासगरी भारतसँग सीमा जोडिएका अस्पतालहरूमा झन् बढी समस्या भएको छ।
शहर छोड्ने आशामा रहेका मानिसहरू यातायात बन्द रहेका कारण या पैदल यात्रामा छन् वा निजी सवारी साधन भाडामा लिएका छन्। बाङ्लादेशको प्रेस सूचना विभागले जारी गरेको विज्ञप्ति अनुसार सरकारी, अर्ध सरकारी र निजी कार्यालयहरू सबै बन्द गरिनेछन्।
भारतमा अहिले क्रमशः साम्य हुँदै गएका र व्यवसाय क्रमशः खुल्न लागे पनि विज्ञहरूले तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन्।