प्रज्ञा डोल्माको पक्षमा भोटको अपील

प्रज्ञा फ्यान क्लब मिरिकले मिरिक रङ्गशाला भवनमा सोमवार एउटा साङ्गीतिक कार्यक्रम सम्पन्न गरेर नेपाल राष्ट्रमा आयोजित सारेगमप लिटल च्याम्प गायन प्रतियोगितामा फाइनलमा पुगेकी मिरिककी छोरी प्रज्ञा डोल्मा तामाङलाई प्रतियोगितामा विजय बनाउन सबैलाई भोट गरिदिने अनुरोध गरेको छ। कार्यक्रममा बाल गायिकाहरू इशा राई, आश्मिक खवास, जीटीए आयडलका प्रतियोगी रघु विश्व, मेरो भोइस युनिभर्सका प्रतियोगी आयन विश्वकर्मा, गायिका सुनिति खाती आदिले गीत प्रस्तुत गरे भने बण्टहिल, आश्मिक एण्ड ड्रिमर, आटिस अफ मिरिकले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरे। यसै अवसरमा साधना कला केन्द्रका कलाकारहरूले नृत्य प्रस्तुत गरे। कार्यक्रममा सारेगमप लिटल च्याम्स्ा प्रतियोगितामा सेमिफाइनलसम्म पुगेर बाहिरिएका बाल गायिका इनुङमा राईलाई पनि सम्मान गरियो। कार्यक्रममा बोल्दै कार्यकारी सभासद अरुण सिग्ची अनि सभासद मिलेस राईले प्रज्ञा डोल्मा तामाङको पक्षमा सबैलाई भोट गरिदिने अनुरोध गरे। प्रज्ञालाई प्रतियोगितामा विजय बनाउन सबैलाई अघि आइदिने तिनीहरूले निवेदन गरे।
यस अवसरमा जीटीएका कार्यकारी सभासद अरुण सिग्ची, सभासद मिलेस राई, जनसम्पर्क अधिकारी विवेक गोले, मिरिक पञ्चायत समिति सदस्य समीर राई, भागोप्रमो मिरिक महासचिव सतीस थापा, पञ्चायत सदस्य दिमुक तामाङ, मिरिक पारिजात सङ्घका अध्यक्ष पुनम विश्व, सचिव पर्मिला सुब्बा, मिरिक व्यवसाय सङ्गठनका अध्यक्ष सेवन राई, मेक अप मरमाका प्रमुख कपील राई लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सङ्गीतप्रेमीहरूको उपस्थिति थियो।
अर्कातिर मेकअप मरमाको आयोजनामा सारेगमप लिटल च्याम्पका फाइनलिष्ट प्रज्ञा डोल्मा तामाङको पक्षमा भाट अपिल गर्दै मरमा खेल मैदानमा आइतवार साङ्गीतिक कार्यक्रम सम्पन्न गरिएको थियो। क्षेत्रका तेह्रवटा समाजका अध्यक्ष, सचिव अनि सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा दावा तामाङ, सुनिधि खाती, आयन खाती आदिले गीत प्रस्तुत गरे। कार्यक्रममा प्रज्ञा डोल्मा तामाङलाई प्रतियोगितामा विजय गराउन सबैलाई भोटको अपील गरियो साथै उपस्थित मानिसहरूबाट भोटका लागि 37 हजार रुपियाँ राशि सङ्ग्रह गरिएको मेक अप मरमाका कपील राईले बताए।

By Piyali Poddar