शनिवार राति मालबजारमा सर्वसाधारणदेखि पत्रकारमाथि भएको आक्रमणको घटनापछि दबाउमा परेर डम्पर मालिकहरूले माफी मागेका छन्। सोमवार मटेलीस्थित एक रेस्टुरेण्टमा पत्रकार सम्मेलन गर्दै उक्त घटनाका लागि डम्पर मालिकहरूले क्षमायाचना गरेका छन्। भविष्यमा पत्रकारहरूमाथि यस्तो दुर्व्यवहार नहुने तिनीहरूले आश्वासन पनि दिएका छन्। उत्तरबङ्ग संवादका पत्रकार अभिषेक घोष अनि अर्का पत्रकार अनिल छेत्रीको नाममा गरिएको प्राथमिकी फिर्ता लिन पुलिससित तिनीहरूले छलफल गरेका छन्। शनिवार रातिको घटनामा डम्पर मालिकहरूको तर्फबाट दर्ता गरिएको प्राथमिकीको आधारमा जसलाई पक्राउ गरिएको छ तिनीहरूको मामिला पनि आपसी समझदारीबाट मिलाउने सङ्केत दिइएको छ। शनिवार रातिको आक्रमणको घटनामा दर्ता प्राथमिकीको आधारमा डम्पर मालिक मोहम्मद रसुल सरकारलाई पक्राउ गरिए पनि आइतवार जलपाइगढ़ी न्यायालयबाट तिनी जमानतमा रिहा भए। त्यसपछि ओदलाबारीमा पटेका पड़काएर समर्थकहरूले तिनको स्वागत गरे। सत्तारूढ़ दलका स्थानीय नेताहरूका निकट रसुलमाथि बालुवा तस्करी, कागजबिना डम्पर चलाएको आदि आरोपहरू तृणमूल दलभित्र उठेका छन्। यसले सत्तारूढ़ पार्टीको माथिल्लो तहमा असहजता बढाएको छ।
आइतवार केही डम्पर मालिकहरूले व्यक्तिगत रूपमा थानामा लिखित प्राथमिकी दर्ता गरेका थिए। उक्त प्राथमिकीमा पूर्व अध्यक्ष स्वपन साहा, काउन्सिलर सुरजित देवनाथ, अमिताभ घोषसहित दुई पत्रकारहरूले डम्पर मालिकहरूलाई उक्साएका आरोप लगाइएको थियो। पुलिस सूत्रअनुसार चारजनाले प्राथमिकी दिएका थिए। सोही प्राथमिकीको आधारमा आइतवार राति मालबजार नगरका चारजनालाई माल थाना पुलिसले पक्राउ गरेको थियो। यसले गर्दा शहरमा तनाउ बढ़ेको छ। पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै सोमवार बिहान एक सर्वदलीय प्रतिनिधि मण्डलले माल थाना इन्स्पेक्टर सौम्यजीत मल्लिकसित भेट गरेको थियो। उक्त प्रतिनिधि मण्डलमा मालबजार नगरपालिकाका अध्यक्ष उत्पल भादुरी, भाजपाका राकेश नन्दी, सीपीएमका राजा दत्त, तृणमूलका अमित दे, कानून व्यवसायी सुमन सिकदार र पत्रकारहरू थिए। बैठकपछि नगर अध्यक्षले भने, यदि पुलिसले सकारात्मक कदम नचाले सोमवार बेलुकासम्म सर्वदलीय बैठक हुनेछ। यद्यपि पछि त्यो बैठक स्थगित भयो। बैठक स्थगितको कारण स्पष्ट नभए पनि तृणमूलको एक पक्षले दलको दबाउमा नगर अध्यक्ष पछि हटेका अनुमान लगाएको छ।
शनिवारको घटनाबारे छलफल गर्न सोमवार नगरपालिकामा पछौटे वर्ग कल्याण तथा आदिवासी विकास मन्त्री बुलु चिकबराइक आए। उक्त अवसरमा डम्पर मालिकहरूले नगरपालिकाका केही काउन्सिलरविरुद्ध दिएका प्राथमिकीको विषय पनि उठ्यो। काउन्सिलरहरूको एक पक्षले जानाजानी बदनाम गर्न प्राथमिकीमा तिनीहरूको नाम सामेल गरिएको आरोप लगायो। तृणमूल सूत्रअनुसार मन्त्रीले उक्त विषयबारे छलफल गरी समाधान गर्ने सुझाउ दिए। बेलुकी मालबजारनजिक बैठकमा तृणमूल नेताहरू र ट्रक मालिक सङ्घबीच छलफल भयो। उक्त बैठकमा रसुलसहित ओदलाबारी ट्रक ओनर्स एशोसिएशनका अध्यक्ष श्रवन गुप्ता, सुकान्त चौधरी, तृणमूल नेता तमाल घोष, तृणमूल ओदलाबारी संयोजक आनन्द मुण्डा, राजेश छेत्री, अशोक चिकबराइक पनि उपस्थित थिए। बैठकमा पत्रकारहरू पनि थिए। सबैको उपस्थितिमा पत्रकारहरूको धारणा सुनेपछि ट्रक मालिक सङ्घले सम्पूर्ण घटनाक्रम र प्राथमिकीको विषयमा माफी मागेको छ।
डम्पर मालिकहरूद्वारा क्षमा याचना
