वार्षिक रू. २५ अर्बको निर्यात सम्भव

भारतले नेपालबाट हुने पाम आयलको पैठारी ६ महीनाका लागि खुला गरेको छ । तर, नेपाली उद्योगहरूले भारत निकासी गर्न कम्तीमा १५ दिनको समय लाग्ने बताएका छन् । पाम निर्यातले व्यापारघाटा कम गर्न सहयोग मिल्ने उनीहरूको भनाइ छ ।

गतवर्ष स्टकमा रहेकाहरूले तत्काल पठाए पनि स्टक नभएका उद्योगले मलेशिया र इन्डोनेशियाबाट क्रुड पाम आयात गरी प्रशोधन गरेर भारत पठाउने र त्यसका लागि १५ दिन समय लाग्ने कावराले खुलाए । उनका अनुसार पामको निकासी खुला भएपछि यसले उद्योगीहरूमा नयाँ सञ्चार गएको छ भने व्यापारघाटा कम गराउन वार्षिक २५ अर्बको योगदान दिनेछ ।

नेपालबाट वार्षिक २५ अर्ब रुपैयाँ बराबरको प्रशोधित पाम आयल निकासी हुँदै आएको थियो । विराटनगर नाकाबाट मात्रै गतवर्षको १० महीनामा ६ अर्ब ७५ करोडको पाम आयल निकासी भएको थियो ।

पामको निकासी बन्द हुँदा नेपालका उद्योगहरूमा ५ अर्ब रुपैयाँ बराबरको पाम आयल स्टक रहेको थियो । १७ उद्योगमा ६० हजार टन पाम स्टाकमा रहेको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष तथा राम रिफाइनका सञ्चालक प्रदीप मुुरारकाले बताए । स्थानीय बजारमा पठाएर बाँकी रहेको पाम अहिले पनि कतिपय उद्योगहरूमा स्टकमा रहेको उनले बताए । बिस्कुट र चाउचाउ उद्योगहरूले पाम आयलको बढी खपत गर्छन् ।

गतवर्षको १० महीनामा ६ अर्ब ७५ करोड ८४ लाख ५६ हजार बराबरको ६४ हजार १ सय २१ मेट्रिक टन तयारी पाम आयल भारत निकासी भएको थियो । यस अवधिमा क्रुड पामको आयात र तयारी तेलको निर्यातबाट विराटनगर भन्सार कार्यालयले ६० करोड ९१ लाख १५ हजारको राजस्व संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *