‘आरआरआर’ रिलिजपछि निर्देशक एसएस राजामौलीसँग रिसाइन् आलिया भट्ट

बलिउड अभिनेत्री आलिया भट्टले फिल्म ‘आरआरआर’बाट दक्षिण भारतीय फिल्ममा डेब्यू गरेकी छन्। हाल उनी प्रदर्शनरत फिल्मप्रति असन्तुष्ट भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। फिल्म रिलिजपछि निर्देशक एसएस राजामौली र आलियाबीच मनमुटाव सुरू भएको अमर उजालाले जनाएको छ।

फिल्म रिलिज अगाडि आलियाले फिल्मको प्रचारमा धेरै समय खर्चिएकी थिइन्। तर छोटो भूमिका पाएकी आलिया फिल्मबाट आफ्नो केही दृश्य काटिएपछि निर्देशक राजामौलीसँग रिसाएकी हुन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आरआरआरको प्रचार सामग्री समेत हटाएकी छन्। २६ मार्च, २०२१ मा अभिनेता रामचरणको राम अवतारमा प्रस्तुत भएको पोस्टरपछि उनले सबै पोस्ट डिलिट गरेकी छन्। 

यसैबीच आलियाले निर्देशक राजामौलीलाई इन्स्टाग्राममा अनफलो गरेकी छन्।  आलियाले फिल्ममा ‘सीता’को भूमिका निर्वाह गरेकी छन्। उनको २० मिनेटभन्दा कम समयको छ।

बलिउड हंगामाका अनुसार आलियाले यो फिल्ममा छोटो भूमिकाका लागि बलिउडमा सिंगै फिल्म खेले बराबरको पारिश्रमिक पाएकी छन्। उनले आरआरआरबाट ९ करोड भारू पारिश्रमिक लिएकी बताइएको छ। ‘बाहुबली’ निर्देशक एसएस राजामौलीले निर्देशन गरेको फिल्ममा आलियासँगै जुनियर एनटिआर, रामचरण, अजय देवगनलगायतको अभिनय छ।  गत शुक्रबारबाट प्रदर्शन भइरहेको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। यसले पाँच दिनमा ५ सय ६५ करोड भारू कमाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *