दिल्लीमा वायु प्रदूषण अत्यधिक, जनजीवन प्रभावित

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण अत्यधिक बढेको छ । दीपावलीका अवसरमा पड्काइएका पटाका तथा आतिशवाजीका कारण वायुमा धुवाँको मात्रा बढेको हो ।

दिल्लीको वायुको गुणस्तर निकै खतरनाक तहमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाउका छन्। पहिले नै खराब रहेको दिल्लीको वायुको अवस्था बिहीबार राति पड्काइएका पटाकाका कारण झन खराब बनेको हो ।

स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको भए पनि स्थानीय बासिन्दाले बिहीबार साँझदेखि नै पटाका पड्काएका थिए । सवारी साधान तथा औद्योगिक क्षेत्रबाट हुने उत्सर्जन, धुलोका कण तथा मौसमी प्रणालीका कारण दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानीका रुपमा विकसित भएको छ।

छिमेकी राज्यका किसानहरुले बालीका नल तथा भुससहितका सामग्री जलाएपछि दिल्लीमा वायु प्रदूषण थप बढ्ने गर्छ । यस्तै हिउँद मै पर्ने दीपावालीमा पड्काइने पकाटाले हरेक वर्षजस्तो दिल्लीको वायुलाई हानिकारक बनाउने गरेको छ ।

तापक्रम कम भएको समयमा वायुको गति पनि कम हुने हुँदा वायुमण्डलमा रहेको प्रदूषण सफा हुन समय लाग्ने गर्छ । धुलोका मसिना कणहरु, पिएम२.५ को मात्रा दिल्लीको वायुमण्डलमा शुक्रबार अधिकतम ९९९ प्रतिघनमिटरसम्म पुगेको सरकारी निकायले जनाएको छ ।

धेरै स्थानमा सो त्रामा ५०० प्रतिघनमिटरभन्दा माथि मापन भएको छ । यो तह मानव स्वास्थका लागि गम्भीर हानीकारक हो । वायुमण्डलमा पिएम२.५ को मात्रा शून्यदेखि ५० सम्म हुनुलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । ५१ देखि १०० सम्म सन्तोषजनक मानिने गरिन्छ ।

दिल्ली सरकारले यो वर्ष प्रदूषण नियन्त्रणका लागि पटाकाको बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर त्यसको प्रभाव दिल्लीका बासिन्दामा भने परेको नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *