अफगानिस्तान: तालिबान र विरोधी फौजबीच पन्जशिर उपत्यकामा भीषण लडाइँ

तालिबान र विरोधी फौजबीच अफगानिस्तानको पन्जशिर उपत्यकामा लडाइँ भइरहेको विवरण आएका छन्।

तालिबानले पन्जशिर उपत्यकाका केही भूभाग नियन्त्रणमा लिएको र विरोधी फौजलाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन्।

तर विरोधी फौजले उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको र तालिबानका सयौँ लडाकु मारिएको दाबी गरेको छ।

पन्जशिर उपत्यका अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकु जम्मा भएको मानिएको छ।

अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्व लडाकु र स्थानीय लडाकुहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन्।

मसूदका बुवा अहमद शाह मसूदले सन् १९८० को दशकमा सोभियत सङ्घको फौज र सन् १९९० को दशकमा तालिबानलाई पन्जशिर उपत्यकाका छिर्न दिएका थिएनन्।

तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले वार्ता असफल भएपछि लडाकुहरू पन्जशिर उपत्यकामा प्रवेश गरेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ।

बीबीसी पर्सिअनका अनुसार विरोधी फौजका प्रवक्ता फाहिम दाश्तीले दुई पक्षले एकदमै फरक अडान लिएका कारण वार्ता असफल भएको बताएका छन्।

उनले दुई स्थानमा तालिबानसँग लडाइँ भइरहेको र ३५० तालिबानको मृत्यु भएको दाबी गरे।

दुवै पक्षको दाबीहरू पुष्टि गर्न सहज छैन।

तालिबान लडाकुहरूले प्रहरी र सरकारका पूर्वअधिकारीहरूलाई खोजी खोजी हत्या गरिरहेको विवरण आएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको बम आक्रमणमा घाइते सैनिकहरूलाई भेटेका छन्।

सो आक्रमणमा मारिएका १७० जनामध्ये १३ जना विदेशी र अफगान नागरिकहरूको उद्धार उडानमा सहयोग गरिरहेका अमेरिकी सैनिक थिए।

बाइडनले अमेरिकी सेनाले अफगानिस्तान छोडेको चार दिनपछि सो भ्रमण गरेका हुन्। अगस्ट १५ मा तालिबानले पश्चिमा देशहरूको समर्थन रहेको सरकारलाई गिराउँदै अफगानिस्तानको सत्तामाथि नियन्त्रण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *