विश्वकपमा मैदानबाहिर भारत र पाकिस्तानकी क्रिकेटरको मन छुने भिडिओ

भारतको महिला क्रिकेट टिमले न्युजिल्यान्डमा भइरहेको महिला विश्वकपमा पाकिस्तानलाई आइतबार १०७ रनले पराजित गर्दै सानदार सुरुवात गर्‍यो। 

महिला विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म ११ पटक प्रतिस्पर्धा भएको छ। ती सबै खेलमा भारत विजयी भएको छ। 

अहिले भारतको जितको भन्दा बढी चर्चा खेलपछि दुबै टिमले एकअर्का टिमप्रति गरेको कदरको भइरहेको छ। 

सामाजिक सञ्जालमा पाकिस्तानकी कप्तान बिस्मिल्लाह मारूफको भिडिओ भाइरल भएको छ। 

भिडिओमा मारूफले खेलपछि आफ्नी छोरीलाई काखमा लिएर उभिएकी छिन्, जहाँ भारतीय क्रिकेट टिमका खेलाडीले उनलाई घेरेर छोरीलाई मायालु नजरले हेरिरहेका छन् र उनको बारेमा केही भनिरहेका छन्। 

यो भिडिओको विषयमा अहिले सामाजिक सञ्जालमा चर्चाको विषयमा बनेको छ। पत्रकार मुजिब माशेलले ‘यो भिडिओ हेरेर तपाईंको मन सुन्दर ढंगले पग्लिनेछ,’ लेख्दै भिडिओ सेयर गरेका छन्। अर्का प्रयोगकर्ताले ‘महिला क्रिकेट विश्वकपको सबैभन्दा सुन्दर तस्बिर’ भनेका छन्। 

पाकिस्तान क्रिकेट टिमकी कप्तान मारूफ न्युजिल्यान्डमा जारी विश्वकपमा भाग लिन आफ्नी सानी छोरी लिएर गएकी थिइन्। उनी छोरी फातिमाको साथ न्युजिल्यान्डको एयरपोर्टमा ओर्लिएको तस्बिरले यसअघि पनि चर्चा पाएको थियो। 

पाकिस्तान क्रिकेट बोर्डले पहिलोपटक आमा बनेका क्रिकेटरलाई हेरचाह गर्न सपोर्ट स्टाफ राख्न तथा सँगै भ्रमणमा लैजान अनुमति दिएपछि मारूफले विश्वकपमा आफ्नी सानी छोरी लिएर जान पाएकी हुन्। 

सन् २०२१ मा पाकिस्तान क्रिकेट बोर्डले महिला क्रिकेटरका लागि ल्याएको यो सुविधा उपयोग गर्ने मारूप पहिलो खेलाडी हुन्। 

गत डिसेम्बरमा मारूफले आफू विश्वकपका लागि पाकिस्तानी टिममा उपलब्ध हुने घोषणा गरेकी थिइन्। लगत्तै उनलाई एक जना सपोर्ट स्टाफ राख्ने अनुमति मिलेको थियो। 

विश्वकप खेल्न न्युजिल्यान्ड जानुअघि मारूफकी आमाले नातिनीको बारेमा अन्तर्वार्ता दिएकी थिइन्।

‘फातिमाको जन्मपछि म झन् सक्रिय भएँ। मेरा अन्य नातिनातिनाहरू देश बाहिर बस्छन्। मैले पहिलो पटक नातिनी हुर्काउने मौका पाएँ। यो एक अद्भुत अनुभव हो, ‘ मारूफको आमाको भनाइ थियो। 

भारतविरूद्ध आइतबार उनले तेस्रो नम्बरमा ब्याटिङ गर्दै १५ रन मात्र जोड्न सफल भइन्। 

पाकिस्तानकी क्रिकेट कप्तान मारूफले सन् २००६ देखि क्रिकेट खेल्न थालेकी हुन्। उनले पाकिस्तानका लागि १०९ एकदिवसीय खेल खेल्दै २६ सय बढी रन जोडेकी छिन्। जसमा १४ अर्धशतक सामेल छन्। उनको एकदिवसीय खेलमा सर्वाधिक स्कोर ९९ रन हो। 

महिला क्रिकेटमा शतकबिना एकदिवसीय खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान उनको नाममा छ। उनले एकदिवसीय खेलमा ४४ विकेट समेत लिएकी छिन्। 

टी-२० मा उनले १०८ खेलमा २२ सय बढी रन बनाएकी छिन्। जसमा ११ अर्धशतक सामेल छन्। उनले टी-२० मा ३६ विकेट लिइसकेकी छिन्। 

उनको नाममा पाकिस्तानका लागि टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान छ। 

उनी सन् २०१९ मा पाकिस्तानको महिला क्रिकेट टिमको कप्तान बनेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *