पानीघट्टाका चिया श्रमिकहरूमा आशाको किरण!

सरकारद्वारा हस्तक्षेप गरेर बन्द पानीघट्टा चियाबारी खोल्नुपर्ने मागमा 2024 को नोभेम्बर महीनादेखि चिया श्रमिकहरूल रिले अनशन आरम्भ गरेका थिए। आज अनशनको 123 दिन पूरा भइसकेको छ। पानीघट्टा चियाबारीलाई धेरै नेताहरूले आश्र्वासन दिए। तर ठोस पहल कतैबाट हुन सकेन। त्यसै क्रममा दार्जीलिङका सांसद राजु विष्ट पनि पानीघट्टा चियाबारी आएका थिए। तर सांसदले पनि केवल आश्वासन मात्र दिएका अनशनकारी राजु भट्टले गुनासो गरे।

गत केही दिनअघि तराई भ्रमण अवधि गोजमुमो अध्यक्ष विमल गुरुङले पानीघट्टा चियाबारीमा चलिरहेको अनशन स्थलमा आएर अनशनकारीहरूसित कुराकानी गरेका थिए। अनशनकारीहरूलाई कलकत्ता लगेर श्रममन्त्री मलय घटकसित भेट गराउने तिनले वचन दिएका थिए। यसै क्रममा गोजमुमो श्रमिक सङ्गठनका महासचिव सूरज सुब्बासित अनशनकारीको चार सदस्यीय टोली आइतवार कलकत्ता प्रस्थान भएको थियो। श्रममन्त्री मलय घटकसित लगभग एक घण्टा चर्चा भएको कलकत्ताबाट फर्केपछि राजु भट्टले बताए। बन्द पानीघट्टा चियाबारी विषयमा टोलीले श्रममन्त्रीसित भेटघाट गरेको तिनले पुष्टि गरे। साथै बन्द पानीघट्टा चियाबारीबारे आफै चिन्तित रहेको स्वयं श्रममन्त्रीले टोलीलाई बताएका पनि तिनले जानकारी गराए। अब केही दिनपछि बन्द पानीघट्टा चियाबारीमा विशेष सर्वे टोली पठाइने अनि सर्वे गरेपछि अनशनकारीहरूसित सर्वे टोलीले भेट गर्ने श्रममन्त्री घटकले वचन दिएका भट्टको भनाइ छ। टोलीले सर्वे गरेपछि पानीघट्टा चियाबारीलाई कसरी सञ्चालन गर्नुपर्ने भनेर निर्णय गर्न चाँड़ै एउटा सभा सिलगढ़ीमा गरिने श्रममन्त्री घटकले टोलीलाई वचन दिएका भट्टले बताएका छन्। स्मरण रहोस्, पानीघट्टा चियाबारी बन्द भएको लगभग 11 वर्ष भइसकेको छ।

पानीघट्टा चियाबारी बन्द भएपछि श्रमिकहरूको अवस्था धेरै सोचनीय बन्दै गइरहेको छ। चियाबारी बन्द भएपछि कामको खोजीमा पानीघट्टाबाट धेरै युवक युवतीहरू पलायन भइसकेका छन्। युवक युवातीहरूको अत्यधिक पलायनले पानीघट्टा चियाबारी क्षेत्र प्राय शून्य भइसकेको छ। घरमा प्रायः वृद्ध-वृद्धा अनि ससाना नानीहरू मात्र छन्। पानीघट्टा चियाबारी खोलाउन चिया सुरक्षा समितिका संयोजक अधिवक्ता बन्दना राईले पनि आफ्नो पक्षबाट धेरै पहल गरिरहेकी छन्। तर अहिलेसम्म पानीघट्टा चियाबारी खोलिने कुनै सम्भावना देखिन्न। तर श्रममन्त्रीको हस्तक्षेपपछि पानीघट्टा चियाबारी खोलिन सक्ने सम्भावनाले पानीघट्टा चियाबारीका श्रमिकहरूमा कमजोर नै भए पनि आशाको किरण भने पक्कै छाएको छ।

By Piyali Poddar