मदारीहाट ब्लकको पूर्वी खैरबारी क्षेत्रका बासिन्दाहरू जङ्गली हात्तीको आक्रमणबाट अत्यन्तै समस्यामा परेका छन्। गए राति जल्दापारा वनबाट ३० हात्तीको बथान पूर्वी खैरबारी क्षेत्रमा प्रवेश गरेको थियो। हात्तीको बथानले सो क्षेत्रका तीन जना बासिन्दाका धेरै सुपारीका रुखहरू तोडफोड गरेका छन्। यसबाट सो क्षेत्रमा सुपारी खेती गर्ने किसानले ठूलो नोक्सानी बेहोर्नु परेको छ। जङ्गली हात्तीको बथानले सो क्षेत्रका गीता शर्मा, हेमलाल शर्मा र मोतीलाल उराँउको सुपारीको रुख समेत तोडफोड गरेको छ। करिब दुई घन्टासम्म उक्त क्षेत्रमा तनाब मच्चाएपछि हात्तीको समूह फेरि जंगलमा प्रवेश गरेको थियो। पीडितलाई वन विभागको नियमअनुसार क्षतिपूर्ति दिइने वन विभागले जनाएको छ।