सड़क निर्माणबारे तृणमूल कङ्ग्रेसको आन्तरिक गुटबन्दी खुलस्त भएको छ। नक्सलबारी ब्लकअन्तर्गत मणिराम ग्राम पञ्चायतको किलाराम जोत क्षेत्रमा एउटा सड़क निर्माणबारे सोमवार तृणमूलका दुई गुटबीच विवाद उत्पन्न भयो। त्यसकारण निर्माण कार्य आरम्भ भएलगत्तै विवादको कारण काम रोकिएको छ। प्राप्त जानकारीअनुसार, किलाराम जोतदेखि रकमजोतसम्म सड़क निर्माणका लागि उत्तर बङ्गाल विकास विभागले 2 करोड़ 60 लाख रुपियाँको बजेट छुट्याएको छ। हालै मात्र लगभग 2 किलोमिटर लामो उक्त सड़क निर्माणको शिलान्यास सिलगढ़ी महकुमा परिषदका सभापति अरुण घोषले गरेका थिए। काम सुरु भएको पहिलो दिनदेखि नै तृणमूलका दुई गुटबीच विवाद आरम्भ भएको थियो। जसको कारण निर्माण कार्य रोकिएको थियो।
सोमवार पुनः काम आरम्भ भएपछि नक्सलबारी पञ्चायत समितिकी उपसभापति तथा तृणमूल नेतृ सजनী सुब्बाले काम रोकिदिइन्। त्यसपछि स्थानीय पञ्चायत सदस्य तथा तृणमूल कङ्ग्रेसका अजय कुमार दाससहित अन्य वासिन्दाहरूले उपसभापतिलाई घेरेर विरोध जनाए। दुवै पक्षबीच चर्काचर्की र वादविवाद समेत भयो। उपसभापति सजनী सुब्बाले भनिन्, काम जहाँबाट आरम्भ हुनुपर्ने हो त्यहाँबाट नगरी अन्यत्रबाट घुमाएर सड़क बनाइँदैछ। म यसबारे विरोध जनाउन जाँदा केही स्थानीय युवाहरूले मलाई आक्रोशित बन्दै घेराउ गरे।
ठेकेदार कम्पनीले बढ़ी मुनाफा कमाउने लोभमा यस्तो गरिरहेको छ। तिनले अझ भनिन्, सड़कको आरम्भ बिन्दु जहाँ तोकिएको छ, त्यहाँबाट एजेन्सीले काम गर्नुपर्छ। तर अहिले आठ फिटे स्थानीय बाटोबाट काम आरम्भ गरिएको छ जुन म स्वीकार गर्न सक्दिनँ किनभने उक्त बाटो पहिल्यै नक्सलबारी पञ्चायत समितिबाट पक्की बनाउने योजना भइसकेको छ। मैले यसबारे सिलगढ़ी महकुमा परिषद्का सभापति अरुण घोषसमक्ष उजुरी दिइसकेकी छु। तिनले स्पष्ट आरोप लगाउँदै भनिन्, यस घटनाको पछाड़ि कुनै एक जनप्रतिनिधिको हात छ। अर्कातिर स्थानीय पञ्चायत सदस्य तथा तृणमूलका अजय कुमार दासले भने, उपसभापतिले दादागिरी गरेर विकास कार्य रोक्न चाहन्छिन्। म मात्र होइन पूरा गाउँले नै यसको विरोध गरिरहेको छ। कामको वास्तविक आरम्भ बिन्दु राजीव मोड़ हो। तर उपसभापतिजीले जबर्जस्ती बोर्ड हटाएर आफ्नो घरअगाड़ि राखेकी छन्। दुवै जनप्रतिनिधिबीच विवादको कारण अहिले सड़क निर्माणको काम ठप्प छ। महकुमा परिषद सभापति अरुण घोषले सबै विषयको अध्ययन गरी उचित कदम उठाइने आश्वासन दिएका छन्।