टाढ़ाबाट हेर्दा कुनै परित्यक्त भवन जस्तो देखिन्छ। अघिल्तिरको प्लेटफर्म र रेल लाइनमा दिनभरि जुवा वा नशाको अड्डा चलिरहन्छ। गाँजा र मादक पदार्थको धुवाँमा हराएको दिग्भ्रमित पुस्ता महिलाहरूलाई गालीगलौज गर्न व्यस्त हुन्छ। यो घटना हो रवीन्द्रनाथ, बाघा जतीनको सम्झनामा बनाइएको सिलगढ़ी टाउन स्टेशनको। यस स्टेशनको एक समय सुनौलो भविष्य थियो। उदाहरणीय बन्न सक्ने यो स्टेशन अहिले खण्डहरमा परिणत भइसकेको छ। उत्तर बङ्गालको एक मात्र महिलाद्वारा सञ्चालित यो स्टेशन नशाखोरहरूको कारण दिन प्रतिदिन दयनीय अवस्थामा पुगिरहेको छ। महिला कर्मचारीहरूले काम गर्दा डर अनुभव गरिरहेका छन्। सर्वसाधारणका लागि पनि राहत छैन। विशेष गरी लामो दूरीका ट्रेनको टिकट काट्न आउने महिलाहरू एकपटक आएपछि दोस्रोपटक यहाँ आउन चाहँदैनन्। कारण स्टेशन दिउँसै असुरक्षित बन्दै गइरहेको छ। एकनजा महिला रेलकर्मीले गुनासो गर्दै भनिन्, केही दिनदेखि यस्ता घटनाहरू अझ बढ़ेका छन्। धेरै यात्रीहरू टिकट काट्न आउँछन् तर गालीगलौजको शिकार भएर फर्कन्छन्। हामीले उच्च अधिकारीहरूलाई यसबारे जानकारी गराउने निर्णय गरेका छौँ।
उत्तर बङ्गालको एक मात्र महिलाद्वारा सञ्चालित स्टेशनमा रेलवे पुलिसको निगरानी यति कम्ती किन छ? भन्ने प्रश्न उठिरहेको छ। सिलगढ़ीका विधायक शङ्कर घोषले भने, सिलगढ़ा टाउन स्टेशनको सुरक्षाबारे रेल र पुलिस कमिश्नरलाई पहिल्यै जानकारी गराइएको थियो। स्टेशनको सुरक्षा बढ़ाउन फेरि रेल र पुलिस कमिश्नरको शरणमा जानेछौँ। महत्त्वपूर्ण इतिहास बोकेको सिलगढ़ी टाउन स्टेशनलाई सन् 2019 मा रेल मन्त्रालयले मोडल स्टेशनको रूपमा घोषणा गरेको थियो। तर कागजमा मात्र मोडल स्टेशन घोषणा गरियो अनि वास्तविकता भने पूर्णतः बेग्लै छ। पूर्वाधारको अभाव, स्टेशनमा रेलको नियमित स्टप नभएको कारण दिनभरि नशाखोरहरूको जमघट हुन्छ। त्यस्तै ड्रग्सको कारोबार र गालीगलौज पनि जारी छ।
दिघा घुम्न जानका लागि आइतवार दिउँसो ट्रेनको टिकट काट्न आएकी 50 वर्षीया मधुमिता दत्तलाई टिकट काउण्टरमा पुग्नेबित्तिकै केही नशालु युवाहरूले गाली गर्न थाले। तुरुन्तै तिनले काउण्टरमा रहेका दुई महिला कर्मचारीहरूलाई त्यसबारे जानकारी गराइन्। उत्तरमा रेलकर्मीहरूले भने, यहाँ यस्तै चलिरहेको छ। हामीले पनि यस्तै गालीगलौज सुन्नुपर्छ। त्यसपछि मधुमिताले काउण्टरअघि रेलवे पुलिसको अनुपस्थितिबारे चिन्ता व्यक्त गरिन्। शहरको ऐतिहासिक स्टेशनको यस्तो अवस्थामा शहरवासीहरूले निराशा व्यक्त गरेका छन्। पर्यावरणप्रेमी अनिमेष बोसले भने, स्टेशनसँग धेरै इतिहास जोड़िएको छ। निगरानी बढ़ाएर तत्काल स्टेशनको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ। टाउन स्टेशनको सुरक्षाबारे पूर्वोत्तर सीमान्त रेलवेका प्रमुख जनसम्पर्क अधिकारी कपिञ्जल किशोर शर्माले भने, यसबारे मलाई थाहा थिएन। उक्त स्टेशनमा निगरानी बढ़ाउनका लागि आरपीएफलाई निर्देश दिइनेछ।