अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शक फर्काएसँगै नेपाली फिल्मकर्मीहरुले फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । कोरोना महामारीका कारण झन्डै दुई वर्षदेखि प्रदर्शन स्थगन गरिएका फिल्मको प्रदर्शन तयारी थालिएको हो ।
निर्माताहरु हलमा दर्शक नआउने डरले फिल्मको प्रदर्शन मिति पक्का गर्न सकिरहेका थिएनन् । तर, बलिउड फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शकको भीड जम्मा गरेपछि नेपाली फिल्मकर्मीमा उत्साह थपिएको छ । ‘सूर्यवंशी’ ले प्रदर्शनको चार दिनमा ९१ करोड ५९ लाखको कमाई गरेको छ ।
हालै निर्माता अर्जुन कुमारले फिल्म ‘चपली हाइट–३’को नयाँ मिति तोकेका छन् । उनको टिमले फिल्मलाई पुस २ मा प्रदर्शन गर्ने भएका छन् । कोरोना महामारीकै कारण ४ दर्जन बढी फिल्मको प्रदर्शन रोकियो । कति फिल्मले प्रचारप्रसारको काम सकिँदा पनि प्रदर्शनको मौका पाएनन् ।
निर्देशक सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ पनि महामारीकै कारण पछाडि सारिएको थियो । अब भने सुदर्शनले माघ १९ गते फिल्मलाई प्रदर्शन गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको नयाँ मिति सार्वजनिक गरेका हुन् ।
यसअघि ‘लप्पन छप्पन–२’ फागुन १३, ‘ए मेरो हजुर–४’ चैत २५ र ‘चिसो मान्छे’ले वैशाख २० लाई प्रदर्शनको मिति तोकेका थिए ।